मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
Invalid date format ११:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सटरको टेन्डर गर्न रोकिएपछि अस्पतालका मेसुले दिए राजीनामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले अस्पतालभित्र काम गर्ने सहज वातावरण नभएपछि राजीनामा दिएको स्पष्ट पारे। ‘जिम्मेवारी लिएको दुई वर्ष पनि भयो, अरू साथीहरूलाई पनि काम गर्ने अवसर दिनुपर्‍यो,’ उनले भने, ‘काम गर्ने सहज वातावरण पनि भएन, काम नै गर्ने वातावरण नभएपछि पदमा बस्नु पनि उचित हुँदैन भनेर राजीनामा दिएँ ।’

स्रोतका अनुसार अस्पतालको हाताभित्र १५ भन्दा बढी सटर छन् । ती सटरको सम्झौता मिति गएको असार मसान्तमा सकिएको छ । त्यसलाई पुनः टेन्डर गर्ने तथा अस्पतालको हाताभित्र रहेको साझा फार्मेसीलाई पनि हटाउने गरी अस्पताल विकास समितिले नै निर्णय गरेको थियो । महेन्द्र लामिछाने अध्यक्ष आएपछि पनि त्यो निर्णय भयो । त्यसभन्दा अघि पनि दुई–तीनपटक यो निर्णय भएको अधिकारीले बताए । तर, म्याद पनि सकिएको र पटक–पटक भएका निर्णय कार्यान्वयन गर्न खोज्दा अवरोध देखिएपछि राजीनामा दिएको स्रोतले बताएको छ ।

‘केही व्यक्तिहरू टेन्डर नगरेर अहिले सम्झौता भएर भाडामा लिएकाहरूलाई नै नवीकरण गर्ने गरी बहस चलेपछि त्यसलाई डाक्टर सावले थेग्न सक्नुभएन खनि राजीनामा दिनुभयो,’ स्रोतले भन्यो ।  त्यहाँका सटरको विषयमा निकै चलखेल हुने गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेका अनुसार टेन्डरको विषय पेचिलो भएकाले पनि राजीनामा आएको हुन सक्ने बताए ।

‘निर्णय नै भइसकेको विषय भएकाले पछाडि हट्न पनि नसकिने भयो,’ उनले भने, ‘अगाडि बढ्दा पनि अवरोध धेरै हुने भयो, त्यसलाई पनि थेग्न गाह्रो भयो होला ।’ अहिल्यै साझालाई हटाएमा अस्पतालले औषधि पनि पुर्‍याउन नसक्ने भन्दै हटाउन पनि गाह्रो हुने उनले बताए। यद्यपि, अहिलेका सटरलाई भत्काएर पर्खाल बनाउने र अस्पताल आफैँले प्रयोग गर्ने गरी पनि योजना बनाउने विषयमा आफूले सोचिरहेको अध्यक्ष न्यौपानेको भनाइ छ।  निमित्त मेसु अधिकारीले लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री कार्यालयका सचिवमार्फत स्वास्थ्यसचिवलाई राजीनामा बुझाएका हुन् ।