मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format १२:५२:oo
Read Time : > 1 मिनेट
समाचार

झापामा ठुलो परिमाणमा लागुऔषध बरामद, मुख्य व्यक्तिलाई प्रहरीले जोगाउन खोजेको आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५२:oo

झापामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध फेला पारेको छ । तर, गिरोहका नाइकेलाई पक्राउ नगरी उनको निर्देशनमा काम गर्ने सामान्य कारोबारीलाई मात्र प्रहरीले सार्वजनिक गरेपछि अनुसन्धानमाथि प्रश्न उठेको छ। 

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको हो । घिमिरेले आफूले स्थानीय भानुभक्त खरेलको निर्देशनमा सो काम गरेको बताएका छन् । 

प्रहरीले घिमिरेको साथबाट  ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल एक लाख तीन हजार आठ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स एक हजार ८७० एम्पुल, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट आठ हजार नाै सय ट्याब्लेट र  कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एन्ड मिसोप्रोप्सोल ट्याब्लेट सात हजार ६५० ट्याब्लेट बरामद गरेको छ । प्रहरीले उक्त परिमाणको लागुऔषधसहित उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । 

बिहीबार प्रहरीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– ५ स्थित मंगलदीप टोलमा मनकुमार संग्रौलाको घरमा छापा हानेर उक्त लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त घरको दुईवटा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरिएको थियो । प्रहरीका अनुसार उक्त घरलाई लागुऔषध कारोबारीको गोदाम बनाइएको छ । प्रहरीले घिमिरेलाई मात्र सार्वजनिक गरेको छ। तर, उनी त्यसका मुख्य व्यक्ति नभएको स्रोतले जनाएको छ । उक्त लागुऔषध कारोबारी बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेल रहेको स्रोतले जनाएको छ । उनी नेकपा एमाले झापाका सक्रिय कार्यकर्ता हुन् । उनले बिर्तामोडमा सनलाइट फर्मा नामक फर्मेसी सञ्चालन गर्दै आएका छन् । उक्त घर पनि खरेलले नै भाडामा लिएको घरबेटी रमादेवी ढकालले जानकारी दिइन् । ‘हामीले भानु खरेल (भानुभक्त)लाई घर ढेड वर्षदेखि भाडामा दिएका थियौँ,’ उनले भनिन्, ‘मेरो त लेखपढ पनि छैन । सही गर्न पनि जान्दिनँ । केही थाहा छैन ।’ उनले बोलेको भिडियो रेकर्ड नयाँ पत्रिकासँग सुरक्षित छ । 

पक्राउ परेका घिमिरे भने भरिया मात्र हुन् । उनी खरेलले पठाएको ठाउँमा उक्त लागुऔषध पुर्‍याउने काम गर्थे । पक्राउ पर्नुभन्दा अघि घिमिरेले उक्त लागुऔषध भानुभक्त खरेलको भएको बताएको थिए। ‘यो भानु खरेलको हो । म यहाँ नयाँ हुँ । कसले ल्याउँछ पनि मलाई थाहा छैन,’ उनले भने, ‘अर्डर आउँछ अनि मलाई पुर्‍याइदिनु भनेपछि म पुर्‍याउनु भनेको ठाउँसम्म पुर्‍याउँछु । यो लागुऔषध भनेर मलाई थाहा छैन ।’ उनको भिडियो रेकर्ड पनि याँ पत्रिकासँग सुरक्षित छ । 

शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दा भानुभक्त खरेलको नाम भने कतै उल्लेख गरेको छैन । जबकि घिमिरेसँग सोधपुछ हुँदाको भिडियोमा खरेललाई तत्काल ‘उठाउने’ कुरा उल्लेख छ। 

उनलाई उन्मुक्ति दिन प्रहरीले उनको नाम सार्वजनिक नगरेको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूलाई एमालेनिकट भएको आरोप लाग्ने गरेको छ । खरेल पनि एमाले कार्यकर्ता भएकाले उनलाई उन्मुक्ति दिने प्रयास गरिएको स्थानीयको  आशंका छ । यद्यपि, प्रहरीले घिमिरे मुख्य व्यक्ति हो–हाेइन भन्नेबारे अनुसन्धान भइरहेको  जनाएको छ।  ‘हामीले गोदाममा राखेको अवस्थामा फेला पारेका हौँ । फार्मेसी छ कि छैन भन्ने विषयमा केही भन्न सकिँदैन,’ इलाका प्रहरी  कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले भने, ‘पक्राउ परेका व्यक्तिको भूमिका के छ ? उनी कामदार मात्र हुन् कि भन्ने विषय अनुसन्धानपछि खुल्छ ।’