
कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध ओसारपसार र बेचबिखन गर्ने चार युवतीसहित नाैजना पक्राउ परेका छन्।
सुनसरीको धरानमा लागुऔषध बेचबिखन गर्ने धरान– १० का २४ वर्षीय अंकित राई, धरान– ६ का २१ वर्षीय भरत मगर, धरान– १३ का २३ वर्षीय सागर राई, धरान– ५ की २१ वर्षीया ज्योति राई, २६ वर्षीया नुमा लिम्बू र धरान– ५ की २३ वर्षीया सुजना राई लागुऔषधसहित पक्राउ परेका हुन्।
उनीहरूलाई बुधबार अस्थायी प्रहरी चौकी रेल्वे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल एक हजार ६२ क्याप्सुल, डिकोलिक ८४२ ट्याब्लेट र डिभोमिन २२० चक्कीसहित पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार मोरङको रंगेली नगरपालिका– ६ बाट झापा दमक नगरपालिका– ९ का ३५ वर्षीय शिवकुमार सोरेन र कमल गाउँपालिका– १ का ३३ वर्षीय आकाश खड्कालाई नाइट्रोजाम १५५ चक्कीसहित र उदयपुरको बेलका नगरपालिका– ८ की २१ वर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित पक्राउ गरिएको हो।
३७२ किलो गाँजा बरामद
यसैगरी, मोरङ प्रहरीले आज बिहान १ बजे मोरङको धनपालथान गाउँपालिका– १ गदिया खोलाकिनारबाट बेवारिसे अवस्थामा ३२३ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाको टोलीले खोलाको किनारको खेतमा प्लास्टिकको १० वटा बोरामा लुकाएर राखेको गाँजा बरामद गरेको हो।
त्यसैगरी, सुनसरीको देवानगँज गाउँपालिका– ७ स्थित सडक किनारबाट पनि ४९ किलो गाँजा बरामद गरेको छ। कोशी प्रदेशका पहाडी जिल्लामा अवैध रूपमा उत्पादन भएका गाँजा लुकाएर भारततर्फ तस्करी हुँदै आएको छ।