मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १८:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्ण  खोप समन्वय समितिका अनुसार यस वर्ष जिल्लाभर पाँच वर्षमुनिका सबै बालबालिकाले खोपको पूर्ण मात्रा प्राप्त गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले धनगढीमा सोमबार आयोजित एक समारोहमा कैलालीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरे।

चालू आर्थिक वर्षमा घरधुरी सर्वेक्षण गर्दा जिल्लाभरका १५ महिनादेखि ६९ महिनासम्मका सबै ३३ हजार ६५९ बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्य कार्यालय कैलाली निमित्त प्रमुख रमेश कुँवरले घरधुरी सर्वेक्षणका क्रममा खोप लगाउन छुटेको पाइएका बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार पछि खोप लगाइएको जानकारी दिए। जिल्ला पूर्ण  खोप समन्वय समितिका सदस्य सचिव रहेका कुँवरका अनुसार १५ देखि ५९ महिनासम्म ३३ हजार ६५९ बालबालिकामध्ये ३३ हजार ८५ जनाले पूर्ण खोप प्राप्त गरेको पाइएको थियो। 

त्यस्तै, १५ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र ४९६ जनाले खोपको मात्रा बिचमै छोडेको पाइएकोमा उनीहरूलाई राष्ट्रिय खोप तालिकाअनुसार खोपको पूर्ण मात्रा लगाइएको कुँवरले बताए। कैलालीमा ३६१ वटा खोप केन्द्रबाट बालिबालिकालाई खोप लगाइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लाभरि बर्सेनि करिब १३ हजार बालबालिकालाई खोप लगाउने गरिन्छ।

इँटाभट्टामा काम गर्ने अभिभावकका बालबालिका, पहाडी क्षेत्र तथा सीमा क्षेत्रका बस्तीमा सबै बालबालिकालाई पूर्ण खोप लगाउन चुनौतीको सामना गर्नुपरेको कार्यालय प्रमुख कुँवरले बताए। त्यस्तै, परम्परागत सोच र खोपसम्बन्धी विभिन्न अफवाहलाई चिरेर बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मीले चुनौती खेप्नुपरिरहेको उनको भनाइ थियो।

‘लक्षित उमेर समूहका सबै बालिबालकाले पूर्ण खोप पाएपछि र वडा हुँदै पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा भइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको अवस्थामा पुगेका हौँ,’ उनले भने। कैलालीलाई यसअघि २०७४, २०७९, २०८० र २०८१ मा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो।

कार्यक्रममा सामाजिक विकासमन्त्री खड्काले आफ्ना बालबालिकालाई खोपको पूर्ण मात्रा लगाउन अभिभावक सचेत हुनुपर्ने बताए। व्यक्तिलाई स्वस्थ बन्न र महामारी नियन्त्रण गर्नसमेत खोपले सहयोग पुग्ने उनले बताए। स्वस्थ नागरिकले मात्र देश, समाज र परिवारका लागि योगदान पुर्‍याउन सक्ने मन्त्री खड्काको भनाइ थियो।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई टिकाई राख्नेतर्फ ध्यान दिन सुझाव दिए।

कार्यक्रममा जिल्लाभरि खोप अभियानमा उत्कृष्ट कार्य गरेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका गरी १३ जनालाई सम्मान गरिएको थियो। जिल्ला पूर्ण  खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरी भुलको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा समारोहमा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो।