
कार्यालयमै थुनिएका राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परबिनसहितका जनप्रतिनिधिलाई चार घण्टापछि बाहिर निकालिएको छ।
नगरपालिकाको गाडीले ठक्कर दिएर घाइते भएका बोदेबरसाइनका पीडितका आफन्तले ताल्चा खोलेपछि जनप्रतिनिधिलाई बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा सिडिओ, एसपीसहित पीडित पक्ष र राजविराजका कार्यवाहक नगरप्रमुखबिच छलफल हुने सहमति भएपछि पीडित पक्षले ताल्चा खोलेका उनले बताए।
नगरपालिकाको गाडीले ठक्कर दिँदा घाइते भएका पीडितका आफन्तले नगरपालिका कार्यालयमा तालाबन्दी गर्दा उनीहरू कार्यालयभित्रै थुनिएका थिए। नगरपालिकामा पटक-पटक आन्दोलन गर्दा आश्वासन मात्र पाएपछि पीडित पक्षले सोमबार कार्यालय सञ्चालन भइरहेको अवस्थामा तालाबन्दी गरेका थिए।
सप्तरीकै बोदेबरसाइन नगरपालिका– १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले नगरपालिकाको मूल गेटमा धर्ना दिएका थिए। घटनाको महिनौँ बितिसक्दासमेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए। उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुःखेसो सुनाए।
२०८१ माघ १ गते बोदेबरसाइन–५ स्थित सडकमा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट राजेशसँगै २२ वर्षीय अजितकुमार यादव घाइते भएका थिए। अजितको राजविराजस्थित छिन्नमस्त अस्पतालमा उपचार गरी घर फर्किए पनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको राजेशका काका बैधनाथ यादवले जानकारी दिए।
९० दिन आइसियूमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएको उनले बताए। अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि संघर्ष समिति बनाएर क्षतिपूर्तिका लागि नगरपालिकामा पटकपटक आन्दोलन गरिरहेका छन्। तर, उनीहरूले आश्वासनबाहेक केही नपाएपछि तालाबन्दी गरेका हुन्।