मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार १९:१८:oo
Read Time : > 1 मिनेट
अर्थ

बाँझो जमिन भाडामा लिएर धर्मराजले फलाए पहिलो वर्ष नै चार हजार केजी आलु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार १९:१८:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका युवा कृषक धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार केजी आलु फलाएका छन् । सोही नगरपालिकाको वडा नम्बर २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन दश वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती गरेका धर्मराजले पहिलो वर्ष नै चार हजार केजी फलाएका हुन् ।  

१२ वर्षअघिदेखि जिल्लामै अर्गानिक तरकारी तथा फलफूल खेती गर्दै आएका धर्मराजले उत्पादन गरेको आलु प्रतिकेजी ४५ रुपैयाँमा बिक्रीसमेत गर्दै आएका छन् । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका धर्मराजले तीन युवालाई रोजगारीसमेत दिएका छन् ।  

घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘झिसेपु अर्गानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लागेका धर्मराजले उत्पादन गरेका आलुमध्ये एक हजार केजी बिउको लागि राखेर बाँकी बिक्री गरिरहेका छन् । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० केजी शनिबार दिक्तेल बजारमा सञ्चालित होटेल तथा पसलहरूमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिए । 

३०-४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गरेका धर्मराजले गत माघमा ६०० केजी भोटाङे जातको आलुको बिउ खरिद गरेर रोपेका थिए । कुनाखर्कमा उत्पादित अर्गानिक आलुलाई खोटाङको ब्रान्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती गरेको धर्मराजले बताएका छन् ।  

करिब ११ लाख लगानीमा सुरु गरेको आलुखेतीलाई आगामी वर्षबाट थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताए । ‘पहिलोपटक लगाएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु,’ उनले भने, ‘आलुसँगै पशुपालन तथा तरकारी खेतीसमेत गर्ने योजना छ । यसका लागि थप जनशक्तिसमेत खोजी गरिरहेको छु ।’

अर्गानिक कृषि उपज उत्पादन अभियानमा लागेका धर्मराजले सुरुमा वडा नम्बर ३ बाम्राङस्थित झिसेपुमा व्यवसायिकरुपमा अर्गानिक फलफूल तथा तरकारी खेती गरेका थिए । करिब १५ वर्षदेखि कृषि पेसामा आवद्ध धर्मराजले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आएका छन् । 

कृषि पेसालाई आधुनिक तथा यान्त्रीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लागेका धर्मराजले जिल्लाका अन्य कृषकलाई तालिमसमेत दिँदै आएका छन् । झिसेपुको फार्म सञ्चालनका लागि धर्मराजलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् ।