१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २१:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेशको बजेटमाथि सांसदहरूको तीव्र असन्तुष्टि, पुनः लेखनको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५४:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्दै तीव असन्तुष्टि व्यक्त गरेका छन् भने केही सांसदले बजेट पुनः लेखन गर्नुपर्ने मागसमेत गरेका छन् ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सांसदहरूले बजेट असन्तुलित, टुक्रे आयोजनाकेन्द्रित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन् ।

बजेटमाथिको छलफलका भाग लिएका १५ जना प्रदेश सांसदहरूले सरकारले ल्याएको बजेटप्रति व्यापक असहमति जनाएका थिए । मुख्यमन्त्री र अर्थमन्त्री तथा पहुँचका आधारमा आफ्नै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप सत्तापक्षका सांसदहरूबाटै उठेका छन् । यो प्रवृत्तिले समग्र प्रदेशको सन्तुलित विकासलाई असर पुर्‍याउने चेतावनी उनीहरूले दिएका छन् ।

सत्ता र प्रतिपक्ष दुवैका सांसदहरूले बजेटको संरचना, कार्यान्वयन सम्भाव्यता र प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पुनः विचार गर्न आग्रह गरेका छन् । विकासको नाममा रकम वितरण केन्द्रमा परिणत भएको भन्दै उनीहरूले सरकारप्रति आक्रोश पोखेका थिए । 

सत्तारूढ दल कांग्रेसका आफ्नै सांसदहरूले समेत सरकारको बजेटप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसका सांसद प्रभात तामाङले बजेटको शैलीप्रति व्यंग्य गर्दै प्रदेश सरकारको नाम ‘रकम वितरण केन्द्र’ राख्न सुझाव दिए । ‘यस्तो किसिमको बजेट बनाउने हो भने यो प्रदेश सरकार होइन, रकम वितरण केन्द्र नामाकरण गरौँ । बागमती सरकारको बजेट गन्तव्यहीन रहेको र सरकारलाई जिम्मेवार बन्न सकेन,’ उनले भने ।

यस्तै कांग्रेसका अर्का सांसद रमेशकुमार महतले चालू आर्थिक वर्षको अन्त्यमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने चुनौती रहेको बताए । उक्त अवस्था सम्भव नभए बजेट कार्यान्वयनमा संकट पर्ने उनले बताए । सरकारले प्रभावकारी, दीर्घकालीन र गेम चेन्जिङ गौरवको कार्यक्रमहरू समेट्न नसकेको बताए ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालले बजेटमा दीर्घकालीन सोचको अभाव रहेको बताए । उनले सरकार बजेट बाँड्नेमा त सक्रिय देखिए पनि स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिमा उदासीन रहेको टिप्पणी गरे । उनले बहुवर्षे आयोजनाहरूलाई आवश्यक बजेट नदिएकोप्रति आपत्ति जनाए । सरकारको बजेट पुनः लेखन गर्न उनले माग गरेका छन्।

नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले बजेटलाई प्रदेश सरकारको कार्यशैली, सोच र क्षमताको दर्पणको संज्ञा दिएका छन् । उनले बजेटमा पार्टीगत स्वार्थ र पहुँचको भरमा गरिएको विनियोजनले सरकारको चरित्र उजागर गरेको टिप्पणी गरे । प्रदेश सरकारको बजेट हालसम्मकै कमजोर, असन्तुलित र भेदभावयुक्त रहेको उनको भनाइ छ । 

नेता गोसाईंले जनताको भावनाअनुसार बजेट निर्माण हुनुपर्नेमा सरकारले इच्छा पूर्तिमा केन्द्रित अहंकारमूलक दस्ताबेज तयार गरेको आरोप लगाए ।

बजेट उत्पादनमुखी भएको अर्थमन्त्री काफ्लेको दाबी

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत गरिएको बजेटलाई सन्तुलित, उत्पादनमुखी र रोजगारी सिर्जनामूलक भएको दाबी गरेका छन् । शुक्रबार प्रदेश सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री काफ्लेले बजेट आर्थिक अनुशासनमा आधारित रही उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रित रहेको बताए ।

अर्थमन्त्री काफ्लेले बजेट निर्माण गर्दा नीति तथा कार्यक्रमलाई आधार बनाइएको स्पष्ट पार्दै बहुवर्षीय योजनामा पर्याप्त बजेट विनियोजन गरिएको दाबी गरे । उनका अनुसार, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, उद्योग, सूचना प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सन्तुलित रूपमा बजेट विनियोजन गरिएको छ ।  ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमदेखि लिएर सूचना प्रविधिमा आधारित विषादी परीक्षण प्रयोगशाला, आधुनिक वधशाला, प्रांगारिक मल कारखाना, दुधजन्य उत्पादनको बजारीकरण तथा प्रोत्साहन अनुदान कार्यक्रमहरू बजेटमा समावेश गरिएको उनले बताए । अर्थमन्त्री काफ्लेले बागमती प्रदेशलाई पर्यटन हबको रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुरूप बजेट तयार पारिएको दाबी गरे ।