१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २० शुक्रबार o८:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसभित्र लोकतन्त्रका नाममा अराजकता मौलाएको गुनासो

नेता, सांसद, मन्त्रीलाई अनुशासनको डन्डा चलाउन माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार o८:१७:oo

कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रका नाममा नीति र विधिमै प्रश्न उठ्ने गरी अराजकता चुलिएको भन्दै अनुशासनको डन्डा चलाउन माग गरेका छन् । चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा विशेषत: संस्थापन र महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्यले अराजकता मौलाएको विषयलाई प्राथमिकताका साथ उठाएका हुन् । पार्टीभित्र मौलाएको अराजकताकै कारण पार्टीले संसद्, सरकार र आन्तरिक काममा एकताका साथ प्रभावकारी काम सम्पादन गर्न नसकेकोतर्फ उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

‘एकले अर्कोलाई बाहिर–बाहिर विनाआधार तुच्छ शब्द प्रयोग गर्दै आरोप लगाउने, होच्याउनेजस्ता अनुशासनहीन अराजक प्रवृत्ति बढेकाले पार्टीको प्रतिष्ठा गिरिरहेकाले अनुशासन र मर्यादाअनुसार पार्टीलाई अगाडि बढाउन अधिकांश केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराउनुभएको छ,’ केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले भने । 

कांग्रेसको पहिलो दिनको बैठकदेखि नै नेताहरूले एकले अर्काविरुद्ध टिप्पणी गर्दै आएका छन् । पहिलो दिन डा. शेखर कोइरालाले विनोद चौधरीप्रति टिप्पणी गरेका थिए । भोलिपल्टै चौधरीले कोइरालामाथि नै कारबाहीको माग गरे । तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य उदयशमशेर राणाले संसद् र पार्टीको बैठकमै कांग्रेस नेताहरू अराजक बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले व्यक्तिगत स्वार्थका लागि पार्टी नीति र निर्णयबाहिर गएर सामाजिक सञ्जाल, सार्वजनिक फोरम र संसद्मा जथाभावी अभिव्यक्ति दिने अराजकता नियन्त्रणका लागि अनुशासनलाई कडाइ गर्न माग गरिन् । ‘सांसद र केन्द्रीय सदस्यहरूले आफ्नै मन्त्री, नेताविरुद्ध पार्टीभित्र होइन, संसद् र बाहिर विषवमन गर्ने, सामाजिक सञ्जालमा लेख्ने अराजक गतिविधि नियन्त्रणका लागि अनुशासनलाई कडाइ गर्नुपर्छ,’ उनले भनिन् । 

अर्की केन्द्रीय सदस्य सीता गुरुङले पार्टीको नेता, सांसद र मन्त्री भएर पार्टीकै विरुद्ध सार्वजनिक रूपमा बोलेर घात गर्ने, व्यक्तिगत गालीगलौजमा उत्रिने काम बन्द गर्न अनुशासनको डन्डा चलाउनुपर्ने धारणा राखिन् । उनले पार्टी र संसदीय दलभित्र आचारसंहिता पालनामा कडाइ गर्नुपर्ने माग पनि राखिन् । 

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टाचार आरोपित व्यक्ति नै केन्द्रीय समिति बैठकमा हाबी भएर विषवमन गर्दा पनि अरू टुलुटुल हेर्नुपर्ने अराजक अवस्था आएको बताए । ‘प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्रीविरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौँ ?’ शिवाकोटीले भने । केन्द्रीय सदस्य गोविन्द भट्टराईले राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राख्ने गरी संवैधानिक र कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका थिए । विदेशी नागरिकता त्याग्नेबित्तिकै सांसद र मन्त्री बन्न पाइहाल्ने अवस्था अन्त्यका लागि पनि त्यस्तो व्यवस्था राख्नुपर्ने उनको भनाइ थियो ।