१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेषज्ञ सेवा बढाउँदै सल्यान जिल्ला अस्पताल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

१५ शय्याको जिल्ला अस्पताल सल्यानले विशेषज्ञ सेवालाई बढाउँदै लगेको छ। सल्यान, रुकुम र रोल्पाका बिरामीलाई सेवा दिँदै आइरहेको सल्यान जिल्ला अस्पतालले पेट तथा मुटुसम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ।

अस्पतालले इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी सेवा बिहीबारदेखि सुरु गरेको हो। इन्डोस्कोपीलगायतका सेवा लिनका लागि दाङ नेपालगन्जलगायत अन्यत्रका अस्पतालमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै जिल्लामै पहिलोपटक विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक डा. अर्जुन बुढाले बताए।

उनले भने, ‘इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ भने कोलोनोस्कोपी मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था र ठुलो आद्राको अवस्था परीक्षण गरिन्छ।’

यस्तै, अस्पतालमा मुटु रोग पहिचानका लागि इकोकार्डियोग्रामी सेवासमेत सुरु गरिएको छ। मुटुको रोगका बिरामी बढ्दै जाँदा यस प्रकारको सेवा विस्तार गरिएको डा. बुढाको भनाइ छ। पेट र अन्ननलीको भित्री भागको भिडियो परीक्षण गरी अल्सर, क्यान्सर, अपच, ग्यास्टिक, रक्तश्राव र मुटुको समस्याको निदान गर्न अस्पताल प्रतिबद्ध रहेको उनले बताए।

सीमित स्रोतसाधन, जनशक्तिको अभावका बिच पनि नागरिकलाई जिल्लामै सेवा प्रवाह गर्न तत्कालका लागि तीन प्रकारका सेवा सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले बताए। उनले भने, ‘सीमित स्रोतसाधनका बाबजुद पनि सेवा विस्तार गरिरहेका छौँ, तर संघ र प्रदेशले भने बजेट कटौती गर्दै गइरहेको छ। ५० शय्याको अस्पताल बनाउन सकिए सल्यानलगायत छिमेकी जिल्लाका बिरामीलाई सेवा प्रदान गर्न सहज हुने थियो।’

कर्णाली प्रदेश सरकारको एक करोड लगानीमा इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी मेसिन खरिद गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।