१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
साइमन टिस्डल
Invalid date format o९:२८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेतन्याहुका कारण इरान–इजरायल स्थायी युद्धविराममा आशंका

युद्ध फेरि सुरु भयो भने अमेरिका त्यसबाट टाढा रहन गाह्रो पर्नेछ

Read Time : > 3 मिनेट
साइमन टिस्डल
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

युद्ध त समाप्त भयो ! तर युद्ध फेरि नभड्किने सुनिश्चित छैन । मौखिक रूपमा भएको इरान–इजरायल युद्धविराम सहमति कुनै पनि क्षण टुट्न सक्छ । तेहरान अझै एक आक्रामक धार्मिक शासकको पकडमा छ । तेल अभिभको अवस्था पनि उस्तै हो । वासिंटनमा एकजना दम्भी र मूर्ख राष्ट्रपति भने शान्ति स्थापना गरेको गफ हाकेर बसिरहेका छन् । यी तीनजना क्रोधी बुढा नेताले पछिल्लो घटनाक्रमबाट केही सिकेजस्तो देखिँदैन । जबकि, पछिल्लो द्वन्द्वमा सयौँ नागरिक मारिए, हजारौँ घाइते भए भने दसौँ लाख अझै आतंकित छन् ।

युद्ध त समाप्त भयो ! तर इजरायलका प्रधानमन्त्री तथा विशाल युद्धपिपासु बेन्जामिन नेतन्याहुलाई भने पछिल्लो लडाइँले पुगेकोजस्तो देखिँदैन । डोनाल्ड ट्रम्पको दाबीअनुरूप इरानको आणविक संयन्त्र ‘नामेट भएको भए पनि’ (सटिक रूपमा भन्दा ‘गम्भीर रूपमा क्षतिग्रस्त भएको’) इरानसँग रहेको आणविक ज्ञान र रहस्यमै रहेको उसको समृद्ध युरेनियमको भण्डार नष्ट भएको छैन । इरानले बचेखुचेको आणविक ज्ञान र सामग्रीबाट बम विकास कार्यक्रम फेरि सुरु गर्न लागेको पहिलो संकेतमै नेतन्याहु र उनका मित्रले पक्कै फेरि आक्रमण गर्नेछन् । ट्रम्पले गत हप्ता दुई देशलाई छुट्याएका थिए । तर, ट्रम्प बिहान उठेदेखि ब्रेकफास्ट गर्ने वेलासम्म तीनपटक मन परिवर्तन गर्न सक्ने व्यक्ति हुन् । 

नेतन्याहुले इरानको आकाशमाथि स्थापित इजरायली हवाई प्रभुत्व सहजै त्याग्लान् भनेर कमैले विश्वास गर्न सक्छ । यदि, नयाँ आक्रमणले राजनीतिक रूपमा फाइदा हुने देखियो भने उनले इरानलाई लक्षित गर्ने प्रलोभनलाई परित्याग गर्न सक्नेछैनन् । नेतन्याहुले समयअघि नै देशभित्र आमनिर्वाचनको सम्भावनामाथि विश्लेषण गरिरहेको बताइन्छ । यस सन्दर्भमा उनी इरानमाथिको कारबाहीले ७ अक्टोबर २०२३ मा हमास आक्रमण रोक्न देखाएको असफलता र बन्धकप्रति देखाउने बेवास्तालाई अन्यत्र मोड्न सफल हुनेछ । 

मार्चमा एकतर्फी रूपमा गाजा युद्धविराम भंग गरेदेखि नेतन्याहुले सो क्षेत्रलाई आफ्नो अधीनमा राख्ने बताइरहेका छन् । गाजा खाद्य वितरण केन्द्रको आसपास र पश्चिम किनारका सहरमा बारम्बार इजरायली सेना र इजरायली बासिन्दाले प्यालेस्टिनी नागरिकलाई गोली हानी मारिरहेको छ । रफाहजस्ता ठाउँमा ठुल्ठुला रक्तपातपूर्ण घटना लगभग हरेक दिन घटिरहेका हुन्छन् । लेबनान र सिरियामा समेत इजरायलले पूरै दण्डहीनताका साथ बम खसालेको छ । नेतन्याहुको सैन्य विकल्प कहिल्यै सकिँदैन । त्यस्तोमा उनी इरानसँग किन फरक होलान् ?

प्राय: मानिस लामो युद्धलाई निन्दा गर्छन् । अफगानिस्तान र इराकको निराशाजनक र बहुवर्षीय पश्चिमी उल्झनले पश्चिममा यो धारणा विकास भयो । तर, नेतन्याहु युद्धलाई घृणा गर्नेमा पर्दैनन् । शान्ति त उनको शत्रु हो । वर्षौंवर्ष चल्ने यही युद्धले नै उनलाई सत्तामा टिकाइराख्न सघाउँछ । र, उनलाई डर रहेको जेलमा जानबाट रोक्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्तै उनी पनि घरेलु समर्थन बढाउने र आफ्ना विरोधीलाई हराउने उपायको रूपमा हेर्छन्, निरन्तर युद्धलाई । अन्तहीन राज्यहिंसा लोकतन्त्र, वैधता र सुशासनका लागि घातक हुन्छ । (र, यस सन्दर्भमा अमेरिकीहरू पनि चिन्तित हुनुपर्छ, किनकि ट्रम्पको शासनकाल पनि उही मार्गमा छ । अझ ट्रम्प देशभित्रैकालाई शत्रु देख्छन् ।)

नेतन्याहुले इरानी जनतालाई भिडियो अपिल गर्दै ‘दुष्ट र दमनकारी शासन’विरुद्ध ‘उभिन’ प्रोत्साहित गरे पनि उनलाई इरानीहरूको स्वतन्त्रताको कुनै मतलब छैन । उनी खालि अन्य साम्राज्यवादी शक्तिले जस्तै एक स्थायी कमजोर, विभाजित, अपमानित इरान चाहन्छन् । यस्तो इरान बनोस्, जसले इजरायलको रणनीतिक हितलाई चुनौती दिन नसकोस् । इरानी आकाशमाथि कब्जा जमाएर र गोप्य साइबर–हमला यिनै उद्देश्यतर्फ लक्षित इजरायली चाल थिए ।

युद्ध सकिएको त छ, तर तेहरानमा त्यस्तो महसुस गर्न सकिएको छैन । शासन परिवर्तनको भय र इजरायली आक्रमणमा शीर्ष नेताको हत्याबाट क्रुद्ध सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्नै जनतामाथि दमनचक्र सुरु गरेका छन् । सुरक्षा कारबाहीमा सयौँ पक्राउ गरिएका छन् । जासुसीको आरोपमा कैयौँलाई मृत्युदण्ड दिइएको छ । शासन जोगाउन खामेनीले अब यसअघि अनिच्छा जनाउँदै आएको आणविक कार्यक्रमको विकासलाई तीव्र बनाउन सक्छन् । वा, उत्तर कोरियाबाट किन्ने विकल्पमाथि पनि विचार हुन सक्छ ।

इजरायलले इरानमाथि गरेका आक्रमणलाई त्यहाँको शासन परिवर्तनका लागि भनेर बताए पनि यथार्थमा भने इरानको शासन पतनको नजिक पनि पुगेको छैन । बरु, इजरायली आक्रमणले आमजनतामाझ सरकारप्रतिको समर्थन र देशभक्तिको भावनामा बढावा दियो । इरानमाथि आक्रमण गर्दा झुटको सहारा लिइएको थियो (अमेरिकी गुप्तचर संस्था र संयुक्त राष्ट्र संघ दुवैले नेतन्याहुले भनेजस्तो इरान आणविक बम निर्माणनजिक पुगेको कुरालाई समर्थन जनाएका थिएनन्) । र, युरोपेली सरकारले इरानाथिको बमबारीको निन्दा गर्न असफल भए । 

इरान अमेरिकाले ऊमाथि लगाएका कठोर आर्थिक प्रतिबन्धबाट राहत चाहन्छ, यस सम्बन्धमा हुने वार्ता गर्न ऊ सहमत हुन सक्छ । तर, तेहरान अब भविष्यको आणविक गतिविधि रोक्न तयार नदेखिन सक्छ । उसले ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)’का निरीक्षकसँगको सहकार्य टुटाइसकेको छ । आफूलाई घेर्ने इजरायली कदमविरुद्ध तेहरानले पुन: क्षेत्रीय छद्म युद्धहरू पुनर्जीवित गर्न सक्छ । ट्रम्पका लागि पनि युद्ध समाप्त भएको छैन (यद्यपि, नोबेल शान्ति पुरस्कारको भ्रमले मोहित भएर उनी युद्ध अन्त्य भएको सोचिरहेका हुन सक्छन् ।) 

युद्ध फेरि सुरु भयो भने अमेरिका त्यसबाट टाढा रहन गाह्रो पर्नेछ । अमेरिकाले इरानमाथि गुप्त आक्रमण गरेर भावी युद्धमा आफ्नो सहभागिता सुनिश्चित गरेको छ । जापानले अमेरिकाको पर्ल हार्बरमाथि गरेको आक्रमण सम्झाउने खालका गुप्त आक्रमणका क्रममा संयुक्त राष्ट्र संघको बडापत्र स्पष्ट उल्लंघन भएको थियो । भविष्यमा दुष्ट राज्यहरूले यस आक्रमणलाई देखाएर आफ्ना उस्तै अवैध आक्रामकताको औचित्य प्रमाणित गर्ने प्रयास गर्नेछन् । कथित युद्ध अपराधी नेतन्याहुलाई सहयोग र प्रोत्साहन दिएर ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चल्ने बातावरण खुला गर्दै छन् । ट्रम्पले बहुपक्षीय कूटनीतिलाई बेवास्ता गरेका छन् । युरोपेली सहयोगीलाई निरन्तर किनारामा राखेर उनले अपमान गरेका छन् । उनको तीव्र अविश्वास र उच्च अहंकारका कारण अमेरिकामाथिको युरोपेली विश्वास उठ्दै छ । यस युद्धबाट लगभग केही पनि सकारात्मक हासिल भएन । यसले दु:ख, विनाश र असुरक्षा मात्र निम्त्यायो । 

साइमन टिस्डल गार्जियनका स्तम्भकार हुन् ।

– द गार्जियनबाट