
अमेरिका–इरान युद्धको भय दशकौँदेखि मध्यपूर्वमा मडारिँदै आएको छ । कहिले तेल ट्यांकरमाथि आक्रमण, कहिले पर्सिया खाडीको हर्मुज जलडमरुमा तनाव वा गोप्य तोडफोडमार्फत यो संकट सतहमा आउँछ । जुन २०२५ मा यो भय वास्तविकतासँग झन् नजिक पुग्यो, तर वासिंटनको दबाबमा एक असहज युद्धविराम सम्भव भयो । इरानी राष्ट्रपति मसुद पेजेस्कियनले यसलाई ऐतिहासिक विजय भनेका छन् भने इजरायली रक्षामन्त्री इजरायल काट्जले अर्को पक्षले युद्धविरामको सम्मान गरेसम्म मात्र आफूले पनि गर्ने बताएका छन् ।
यता राष्ट्रपति ट्रम्पले कंग्रेसको स्वीकृतिविनै इरानमाथि आक्रमणको आदेश दिएको आरोपमा आलोचना खेप्नुपर्यो । यद्यपि, डेमोक्य्राटको महाभियोग प्रयास असफल रह्यो । तर, यसले अमेरिकाभित्र सम्भावित युद्धलाई लिएर गहिरो विभाजन देखायो । यस्तो द्वन्द्व पश्चिम एसियाको हालसम्मकै सबैभन्दा खतरनाक युद्ध बन्न सक्थ्यो । तर, अमेरिकी सैन्य शक्ति अद्वितीय भए पनि उसले किन इरानी सत्ता परिवर्तन वा पूर्ण सैन्य पराजयसम्मको निष्कर्ष रोजेन ? ७० वर्ष लामो जटिल इतिहास र एक स्थायी पाठले इरान सजिलो दुस्मन होइन, न त सजिलै नियन्त्रण गर्न सकिने देश हो भन्ने देखाउँछ । सन् १९५३ मा अमेरिकी र बेलायती गुप्तचर निकाय सिआइए र एमआई–६ ले प्रधानमन्त्री मोहम्मद मोसाद्देगलाई सत्ताच्युत गरी शाहलाई पुन: सत्तामा ल्याए किनभने मोसाद्देगले तेल उद्योग राष्ट्रियकरण गर्न खोजेका थिए र इरान सोभियत संघतिर झुक्ने आशंका थियो । यही घटनाले इरानी अविश्वास र आक्रोशको बिउ रोप्यो, जुन सन् १९७९ मा विस्फोट भयो, जब तेहरानस्थित अमेरिकी दूतावासमा ५२ अमेरिकी नागरिक चार सय ४४ दिनसम्म बन्धक बनाइए । तत्पश्चात् अमेरिका इरानप्रति सधैँ सतर्क रहँदै आएको छ ।
अमेरिकी राष्ट्रपतिले इरानलाई धम्की दिए, प्रतिबन्ध लगाए र परोक्ष बमबारी पनि गरे । तर, पूर्ण युद्धको हिम्मत कमैले गरे । ९/११ को आतंककारी हमलापछि राष्ट्रपति जर्ज डब्लु बुसले इरानलाई दुष्टताको केन्द्र (एक्सिस अफ इभिल) को संज्ञा दिए । अफगानिस्तान र इराकमा शीघ्र सत्तापलटपछि उनका सल्लाहकारले तेहरानलाई अर्को लक्ष्य माने । तर, इराकमा फैलिएको विद्रोह र हजारौँ अमेरिकीको मृत्युपछि केहीले इरानसँगको युद्ध झन् ठुलो र जटिल हुने चेतावनी दिए । स्मरण रहोस्, इरानको कठिन भौगोलिक बनोट र व्यापक मिलिसिया सञ्जालले युद्धलाई थप जटिल बनाउँछ ।
यो यथार्थ ओबामाको पालामा झन् प्रस्ट भयो । जब इरानले आणविक प्रशोधनमा प्रगति गरिरहेको सूचना आयो, ओबामाले कूटनीतिक बाटो रोजे । उनका आलोचकले यसलाई बचकना निर्णय भने, तर ओबामाका लागि युद्धले आणविक कार्यक्रमलाई अस्थायी रूपमा मात्र रोक्ने र अमेरिकी सेनालाई जमिनमै तान्ने खतरा थियो । ट्रम्पले पहिलो कार्यकालमा ठिकविपरीत नीति अपनाए । उनले आणविक सम्झौता तोडे, कडा प्रतिबन्ध लगाए र जनरल कासिम सुलेमानीको हत्या गराए । तर, इरानले जब मिसाइल आक्रमणमा प्रतिक्रिया दियो, ट्रम्प दीर्घकालीन सैन्य कारबाहीबाट पछि हटे ।
यसपटक ट्रम्प प्रत्यक्ष युद्धतर्फ झन् नजिक पुगेका थिए । अमेरिकी वायुसेनाले आणविक स्थल, कमान्ड केन्द्र र मिलिसिया अड्डामा प्रहार गर्यो । तर, अमेरिका अझै पनि जमिनीस्तरमा सेना पठाउनबाट पछि हट्यो, किनभने त्यस्तो कदमले तेल संकट निम्त्याउने र वैश्विक अर्थतन्त्रलाई मन्दीमा धकेल्ने खतरा थियो । कतारस्थित अमेरिकी अड्डामाथि इरानी मिसाइल आक्रमणपछि ट्रम्पले इरानलाई अग्रिम चेतावनी दिएको भन्दै ‘धन्यवाद’ दिए । यो असामान्य भए पनि दुवै पक्ष साँच्चै युद्ध चाहँदैनथे भन्ने स्पष्ट सन्देश थियो ।
इरानले फेरि किन आफूलाई निर्णायक रूपमा पराजित गर्नु गाह्रो छ भन्ने देखाएको छ । यसको भूगोल, राष्ट्रवाद र छद्म युद्ध रणनीतिले अमेरिकालाई सताएरै राखेको छ । इरानियन रिभोलुसनरी गार्ड कोर्स अमेरिकासँग प्रत्यक्ष भिड्न सक्दैन, तर लेबनानदेखि यमनसम्म फैलिएका मिलिसियाबाट क्रमश: क्षति गराउन सक्छ । पूर्ण युद्धले खाडीका राजतन्त्रलाई युद्धमा तान्ने, हर्मुज बन्द गराउने र तेलको मूल्य चुल्याउने जोखिम बोकेको हुन्छ । अझ भयावह विषय भनेको आणविक कार्यक्रम हो । तीन सन्देहास्पद अड्डामा आक्रमण गरिए पनि इरानले गहिरो भूमिगत पुनर्निर्माण गर्न सक्छ वा बम निर्माणतर्फ अघि बढ्न सक्छ, जुन वासिंटनको सबैभन्दा ठुलो डर हो ।
हाल एक असहज युद्धविराम कायम छ । इरानले समस्या सुल्झाउने इच्छा देखाएको छ र इजरायलले संयमता देखाउने वाचा गरिरहेको छ । प्रवृत्ति दोहोरिएको छ, अर्थात् सीमित हमला, उक्साहट तर सत्ता परिवर्तनसम्मको आक्रमण नगर्ने । र, इरानी नेताले पनि खेल निकै चतुर्याइँसाथ खेलेका छन् । उनीहरूले यति मात्र हमला गर्छन् कि शत्रुले मूल्य चुकाउनुपरोस् । तर, यति गम्भीर पनि होइन कि अमेरिका प्रत्यक्ष युद्धमा उत्रन बाध्य होस् । अमेरिका आफैँले सिकेको पाठ के हो भने यस्तो युद्धको मूल्य अत्यधिक हुन्छ ।
इतिहासले सत्तापलट सजिलो हुन सक्छ, तर त्यसपछिको स्थायित्व कठिन हुन्छ भन्ने सिकाउँछ । शाहको पतनदेखि दूतावास संकट, बग्दादका विद्रोहदेखि आजको युद्धविरामसम्म प्रवृत्ति उस्तै दोहोरिएको छ । अमेरिका इरानलाई सजाय दिन सक्छ, तर विजयको निश्चितता छैन । हालैका हवाई आक्रमण, मिसाइल प्रहार र युद्धविरामले अकल्पनीय रेखा पार गरिसकेका छन् । अमेरिकाले इरानसँगको युद्ध आफ्नै सर्तमा सुरु गर्न सक्छ, तर त्यसको अन्त्य ती सर्तमा हुनेछैन । सम्भावित अन्त्य जलिरहेका तेल ट्यांकर, कब्जा गरिएका दूतावास, अकासिएका मूल्य र शताब्दीयौँदेखि साम्राज्यलाई घुँडा टेकाउँदै आएको कठोर भूगोलमा मृत्युसँग जुधिरहेका अमेरिकी सैनिकका साथ हुनेछ ।
(स्वैन उप्सला विश्वविद्यालयमा शान्ति एवं द्वन्द्व अनुसन्धानका प्राध्यापक हुन्)
नेसनल हेराल्डबाट