
मधेश प्रदेश सभा सदस्य ललिता दास ‘विद्रोही’माथि बुधबार बिहान सिराहाको लहानमा सांघातिक आक्रमणको प्रयास भएको छ । प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहान नगरपालिका– १ स्थित एनएमबी बैंकनजिक बसबाट ओर्लिएलगत्तै दुईजना अपरिचित युवाले सांघातिक आक्रमणको प्रयास गरेको उनले बताइन् । ‘बसबाट ओर्लिएपछि दुईजना युवक पूर्वतिरबाट म भएको ठाउँतिर आए,’ उनले भनिन् ‘मलाई लखेट्न थालेपछि ५० मिटर दक्षिण रहेको घरतिर दौडिँदै छोरीलाई फोन गरेर गेट खोल्न लगाएपछि भित्र पस्न भ्याएँ ।’
फोनबाट छोरीलाई गेट खोल्न भन्न नभ्याएको भए आफूमाथि जे पनि हुन सक्ने उनले बताइन् । आफू घरभित्र पसेपछि तत्काल इलाका प्रहरी कार्यालयका इन्चार्जलाई फोन गरेको भए पनि प्रहरी ढिलो आउँदा आफूलाई आक्रमणको प्रयास गर्नेहरू फरार हुन भ्याएको उनको गुनासो छ । ‘म सांसद भएको व्यक्तिले तत्काल फोन गर्दा त लहानजस्तो ठाउँमा प्रहरी समयमा आउँदैनन् भने ग्रामीण क्षेत्रको अवस्था कस्तो होला ?’ उनले भनिन् ।
आफूले प्रदेश सदनमा दलित, महिला, अन्यायमा परेका व्यक्ति र तिनमाथि अत्याचार गर्नेहरूको विषयमा कुरा उठाइरहेकाले आफ्नो आवाज बन्द गर्न षड्यन्त्रमूलक ढंगले आक्रमणको प्रयास भएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रदेश सांसदमाथि आक्रमणको प्रयास भएकोबारे बिहान १२ः४२ मिनेटमा खबर पाएलगत्तै आफूले तत्काल मोबाइल टोलीलाई पठाएको बताए ।
प्रहरीको मोबाइल टोली नगरको भित्री भागमा भएकाले उनको घर रहेको ठाउँमा १८ मिनेटमा पुगेर त्यस क्षेत्रवरिपरि खोजतलास गरेर फर्किएको उनले बताए । ‘घटनाको विषयमा बुधबार बिहान कार्यालय खुलेपछि सिसिटिभी क्यामेरा रहेका कार्यालयमा फुटेज हेरेर अनुसन्धान गर्छौँ,’ उनले भने, ‘त्यसबाट आक्रमणकारीको पहिचान खुलेपछि नियन्त्रणमा लिएर कानुनी कारबाही गर्छौँ ।’