१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o७:o३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मन्त्रालय र एनओसीबिचको विवाद : २०औँ एसियाडमा मन्त्रालय र एनओसीबाट फरक खेलसूची दर्ता

मन्त्रालय भन्छ– ३१ खेल, तर ३० खेल मात्रै एसियाडमा दर्ता भएको एनओसीको दाबी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o३:oo

अर्को वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालबाट सहभागी हुने खेलको सम्बन्धमा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले फरक–फरक सूची आयोजकलाई पठाएका छन् । एनओसीले मंगलबार पत्रकार सम्मेलन गर्दै सोमबार राति १२ बजेभित्र एसियाडमा नेपालबाट ३० वटा खेल संघका नाम दर्ता गराएको जानकारी दिएको छ । 

एनओसीको पत्रकार सम्मेलनलगत्तै मन्त्रालयले नेपालबाट ३१ खेल दर्ता भएको बतायो । जापानको आइची नागोयामा हुने एसियाडको सहभागितालाई लिएर दुई फरक खेल सूची दर्ता हुँदा मन्त्रालय र एनओसीबिचको आपसी द्वन्द्वी छरप्रस्ट भएका छन् । ‘हामीले आयोजकलाई नेपालबाट ३० वटा खेल संघले भाग लिने भनी दर्ता गराएका छौँ,’ अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘सोमबार खेल दर्ता गराउने अन्तिम दिन थियो । अब समयसीमाभन्दा पछि आएका खेल संघ दर्ता गर्न सकिँदैन ।’

मन्त्रालयले प्रतियोगितामा सहभागी हुन चाहने ३१ वटा खेल संघको खेल सम्बन्धित निकायमा दर्ता भएको विज्ञप्तिबाट जानकारी दिएको छ । एनओसीले फुटबल र फेन्सिङ, तेक्वान्दोजस्ता प्रमुख खेल समावेश गरेको थिएन । तर, मन्त्रालयको लिस्टमा तेक्वान्दोसँगै, फुटबल तथा फेन्सिङ खेल समावेश छन् । मन्त्रालयले एनओसीले दर्ता नगरेको नौ खेल पठाएको छ । तेक्वान्दो, जिम्न्यास्टिक, इक्वेस्ट्रियन, फुटबल, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्यान्डबल, र रोइङ छन् । एसियाडको इतिहासमा नेपाललाई पहिलोपटक रजत दिलाएको खेल नै तेक्वान्दो थियो । सन् १९९८ मा बैंककमा भएको एसियाडमा सविता राजभण्डारीले इतिहास रच्दै नेपाललाई तेक्वान्दोबाट रजत दिलाएकी थिइन् । 

राखेप र मन्त्रालयमा दुईपटक पत्राचार
एनओसीका अध्यक्ष श्रेष्ठले २०औँ एसियाडमा खेल संघको दर्ता गराउन मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई दुई–दुईपटक नाम दर्ता गराउन पत्र पठाएको बताए । ‘हामीले ओसिए र आयोजकबाट प्राप्त सहभागिता पत्र मन्त्रालय र राखेपमा दुईपटक पठायौँ, तर उहाँहरूले अहिलेसम्म पनि केही जवाफ फर्काएका छैनन्,’ उनले भने । एसियाडको नियमावलीअनुसार डेटलाइनपछि कुनै पनि खेल संघ दर्ता गर्न नसकिने श्रेष्ठले बताए । ‘मन्त्रालय र राखेपबाट कुनै जवाफ नआएकाले खेल संघमार्फत नै दर्ता प्रक्रिया अघि बढायौँ । हामीले सोमबार अन्तिम दिन ३० खेलको पठाएका छौँ,’ उनले भने । 

मन्त्रालय र राखेपले भने अवैध एनओसीको अनुरोधलाई कानुनअनुसार मान्यता दिन नसक्ने जनाएका छन् । खेलकुदमन्त्री तेजुलाल चौधरीले परराष्ट्र मन्त्रालय र नेपालस्थित जापानिज दूतावासको सहयोगमा सहभागी हुने खेलको सूची पठाएको बताए । ‘अवैध एनओसीले गरेका कुनै काम वैध छैन । सरकारले एसियाडमा भाग लिने खेल सूची दर्ता गराइसकेको छ,’ उनले भने । पछिल्लो समय मन्त्रालय र एनओसीबिचको विवाद पेचिलो बन्दै जाँदा यसको प्रत्यक्ष असर खेल संघ र खेलाडीमा परेको छ । 

विवादबारे खेलाडी संघको ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राखेप र एनओसीबिचको पछिल्लो विवादले फेरि एकपटक खेलाडी मारमा पर्ने सम्भावना बढेको बताए । नेपाली खेलकुदमा समय–समयमा देखिने संस्थागत र नेतृत्वगत विवादको प्रत्यक्ष असर खेलाडीमाथि परेको उनको भनाइ छ । ‘अहिले उत्पन्न परिस्थितिले फेरि एकपटक खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने सम्भावना बढेको छ,’ श्रेष्ठले भने, ‘खेलाडी नै मर्कामा पर्दा खेलकुद नेतृत्व गरिरहेका संस्था र पदाधिकारीहरूको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ ।’ 

दुई संस्थाबिचको आपसी द्वन्द्वका कारण २०औँ एसियाडमा नेपालको सहभागी हुन नपाउने खतरा बढ्नु नेपाली खेलकुदकै लागि दुर्भाग्यपूर्ण हुने श्रेष्ठले बताए । ‘सबै सरोकारवाला युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र राष्ट्रिय संघहरूलाई आ–आफ्नो जिम्मेवारी बोध गर्दै खेलाडीको सहभागिता निश्चित गर्ने वातावरण तत्काल निर्माण गर्न संघले आग्रह गरेको छ,’ उनले भने । 

अन्तर्राष्ट्रिय अभ्यास 
आइओसी र ओसिएले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुने खेल संघको दर्ता सम्बन्धित राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)लाई अधिकार दिएका हुन्छन् । एनओसीबाहेक कुनै पनि माध्यमबाट प्रतियोगितामा सहभागी हुनचाहे आइओसी र ओसिएले मान्यता दिँदैन । 

आइओसी र ओसिएको प्रत्यक्ष संलग्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा एनओसीलाई समन्वय भूमिकाको अधिकार दिएको हुन्छ । नेपालको हकमा नेपाल ओलम्पिक कमिटीलाई यस्तो अधिकार दिएको छ । अहिलेसम्म एनओसीको माध्यमबाटै नेपालले ओलम्पिक र एसियाड आदि अन्तर्राष्ट्रियमा भाग लिँदै आएको छ ।

आइओसी र ओसिएले एनओसीलाई प्रतिबन्ध लगाएको अवस्थामा प्रतियोगितामा सहभागी हुन फरक माध्यम अपनाउनुपर्छ । एनओसी प्रतिबन्ध हुँदा पनि सम्बन्धित राष्ट्रका खेलाडीले प्रतियोगितामा सहजै सहभागी हुन पाउँछन् । उनीहरू आइओसी वा ओसिएको झन्डामुनि प्रतिस्पर्धा गर्छन् । ‘नेपालमा हामी मात्र मान्यताप्राप्त एनओसी हो । यो संस्थाबाहेक अन्य माध्यमबाट एसियाडमा सहभागिताको नाम दर्ता गराएको छ भने त्यो ओसिए र आयोजकलाई मान्य हुनेछैन,’ एनओसीका महासचिव राजीव श्रेष्ठले भने, ‘उहाँहरूले कहाँ गएर ३१ खेलको नाम दर्ता गराएको हो ?’