१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
अजित अधिकारी काठमाडाैं
Invalid date format o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्वचालित मूल्य प्रणालीमै आयल निगमको मनपरी : बढेर आएको पेट्रोल, डिजेलमा मूल्यवृद्धि तर, घटेर आएको ग्यासको मूल्य घटाइएन

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o५:oo

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट सोमबार साँझ पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको भोलिपल्टै नेपाल आयल निगमले नेपाली बजारमा ती इन्धनको मूल्यवृद्धि गर्‍यो । तर, ग्यासको मूल्य प्रतिसिलिन्डर ५१ रुपैयाँले घटेर आए पनि निगमले त्यसको मूल्य घटाएन, न त सार्वजनिक नै गर्‍यो ।

सोमबार साँझ निगमले जारी गरेको विज्ञप्तिमा पेट्रोल ७.६४ रुपैयाँ, डिजेल ९.१३ रुपैयाँ र हवाई इन्धन ६.८८ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाउँदै त्यहीअनुसार मूल्यवृद्धि लागू गरिएको उल्लेख छ । तर, ग्यासको मूल्य घटेको उल्लेख छैन । 

निगमले पेट्रोलमा ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ५१ अमेरिकी डलर प्रतिकिलोलिटर मूल्यवृद्धि गरेको छ । तर, ग्यासको खरिद मूल्य घटेको जानकारी लुकाइएको छ । 

स्रोतका अनुसार ग्यासको मूल्य घटाउनुपर्ने दबाबबाट बच्न त्यसलाई विज्ञप्तिबाटै गायब गरिएको हो । ‘ग्यासबारे केही उल्लेख नगरिएपछि आमउपभोक्ताले थाहा नै नपाउने अवस्था हुन्छ,’ निगम स्रोतले भन्यो । 

ग्यासमा घाटा रहेकाले मूल्य समायोजन गर्न नसकिएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘सोमबार ग्यासको मूल्य घटेर आएको सत्य हो, तर अझै पनि ग्यासमा प्रतिसिलिन्डर १९७ रुपैयाँ घाटा छ । त्यसैले मूल्य घटाउने अवस्था छैन,’ उनले भने । 

तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ग्यासको मूल्य नघटाएर आयल निगमले उपभोक्तामाथि अत्याचार गरेको बताए । ‘बढेर आएको मूल्य तुरुन्तै बढाउने, तर घटेर आएको मूल्य नघटाउनु उपभोक्तामाथि अन्याय हो,’ उनले भने, ‘यो गम्भीर गैरजिम्मेवारी हो । प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयले हस्तक्षेप गरेर भए पनि मूल्य घटाउनुपर्छ ।’

आयल निगमले तीन वर्षदेखि आइओसीबाट प्राप्त १५ दिने दरका आधारमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको छ । तर, ग्यासको मूल्यमा भने स्वचालित प्रणाली लागू भएको छैन ।

सोमबार आइओसीले पठाएको नयाँ दरअनुसार निगमले ग्यासको मूल्य घटाएको भए प्रतिसिलिन्डर ५० रुपैयाँ कम हुन्थ्यो । नेपालको सन्दर्भमा दैनिक करिब एक लाख सिलिन्डर ग्यासको खपत हुन्छ । तर, निगमले घाटाको बहानामा मूल्य स्थिर राख्दै आएको छ ।

ग्यासलाई घरेलु र व्यावसायिक प्रयोजनमा छुट्याएर मूल्य निर्धारण गर्ने नीति बनाइए पनि कार्यान्वयन सुरु भएको छैन । बरु, ग्यासको घाटा बढाउने गरी उद्योगीहरूलाई बारम्बार कमिसन बढाइँदै आएको छ । पछिल्लोपटक फागुनमा प्रतिसिलिन्डर १२.७५ रुपैयाँ कमिसन वृद्धि गरिएको थियो, जसको भार अन्तत: उपभोक्ताले नै बोक्नुपरेको छ ।

घाटा देखाएर ग्यासको मूल्य नघटाउने निगमको मासिक नाफा एक अर्ब

उपभोक्तालाई राहत दिने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको निगमले चालू आर्थिक वर्ष ०८१/८२ को १५ असारसम्म करिब १२ अर्ब नाफा आर्जन गरिसकेको छ । स्रोतका अनुसार प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दा औसतमा ५० करोड रुपैयाँ नाफा सुनिश्चित गर्ने गरिएको छ । ‘मासिक औसत एक अर्ब नाफा सुनिश्चित गरेर पेट्रोलियमको मूल्य समायोजन हुँदै आएको छ । कुनै महिना एक अर्ब ३० करोडसम्म पनि नाफा बुक भएको छ,’ स्रोतले भन्यो ।

सोमबार रातिदेखि लागू हुने गरी मूल्य समायोजन गर्दा पनि आगामी १५ दिनका लागि ४० करोड रुपैयाँ नाफा बुक गरिएको छ । तर, ग्यासको मूल्य स्वचालित प्रणालीअनुसार प्रतिसिलिन्डर ५० रुपैयाँ घटाउन भने निगम व्यवस्थापनले लोभ गरेको छ । दैनिक एक लाख सिलिन्डर ग्यास खपतको आँकडा गरेको निगमले ५० रुपैयाँ मूल्य घटाएको भए आगामी १५ दिनमा ग्यासमा सात करोड ५० लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने थियो । जुन घाटा ४० करोड रुपैयाँ प्रक्षेपित नाफाबाट व्यवस्थापन गर्न सकिने भए पनि निगमले उपभोक्ताको हित वास्ता नगरी मूल्य समायोजन गरेको छैन । निगमले ३ वैशाख ०८१ देखि ग्यासको मूल्य समायोजन गरेको छैन । अहिले प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ तोकिएको छ ।