१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Wednesday, 02 July, 2025
२o८२ असार १७ मंगलबार २१:१५:oo
Read Time : > 1 मिनेट
समाचार

मोटरसाइकल चोरीमा संलग्न तीनजना पक्राउ, पाँच मोटरसाइकल बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार २१:१५:oo

बारा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरीमा संलग्न आरोपमा तीनजनालाई पक्राउ गरी उनीहरूको साथबाट पाँचवटा मोटरसाइकल बरामद गरेको छ।

प्रहरीका अनुसार पछिल्लो केही महिनायता कोल्हवी आसपासबाट मोटरसाइकल चोरीका घटना बढिरहेका थिए । कोही मोटरसाइकल घरअगाडि पार्किङ गरिएको अवस्थामा हराउँथे भने कतिपय मोटरसाइकल किनमेल गर्न गएका बेला चोरी भएका थिए। चोरीका मोटरसाइकल खोजतलास गरी पाऊँ भन्दै  पीडितहरूले इलाका प्रहरी कार्यालय कोल्हवीलाई गुनासो गरेसँगै प्रहरीले निगरानी गर्दै आएको थियो।

पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका–१ का २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र मुस्कान चौधरी रहेका छन्। तीनैजना स्थानीय हुन्, उनीहरू विगतमा समेत आपराधिक गतिविधिमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ। उनीहरूमाथि जिल्ला अदालत बाराबाट म्याद थप लिई चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले मोटरसाइकलहरू चोरी गरी विभिन्न ठाउँमा लुकाएर राख्ने, केही अवस्थामा नम्बर प्लेट फेरेर बिक्री गर्न गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट प्र२–०३–००६ प ६५१५ को १२५ सिसी क्षमताको होन्डा साइन, ना४८प ६९७० नम्बरको टिभिएस आरटिआर २००, बा९४प २१४६ नम्बरको बजाज पल्सर २२०, ना६५प ८८६० नम्बरको टिभिएस स्ट्राइकर, र प्रदेश २–०३–०५ प ६२२६ नम्बरको टिभिएस स्ट्राइकर बरामद गरिएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख तथा प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए । 

प्रहरीले पछिल्लो घटनालाई ठूलो उपलब्धि मानेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरूबाट थप बयान लिँदा अन्य मोटरसाइकल चोरीमा पनि संलग्नता रहेको आशंका गरिएको छ। यस आधारमा अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान कार्य तीव्र पारिएको छ।

प्रहरी स्रोतका अनुसार चोरी गरिएका केही मोटरसाइकल भारत तस्करी गर्न खोजिएको पनि आशंका छ। यस विषयमा सीमावर्ती क्षेत्रका सुरक्षानिकायसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाइएको छ।