१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १८:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोलबजार स्वास्थ्य चौकीको बेहाल, बिरामीलाई हिलाम्मे बाटोले समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने बाटो नै हिलाम्मे र चिप्लो भएपछि बिरामीसहित लिएर जाने व्यक्ति नै लडेर घाइते हुने चिन्ताले पिरोलिन थालेका छन्। पछिल्लो करिब तीन वर्षदेखि स्वास्थ्य क्षेत्रमा अब्बल रहेको दाबी गर्दै आएको सिराहाको गोलबजार नगरपालिका– ४ स्थित स्वास्थ्य चौकीमा पुग्ने जोकोही बिरामी र आफन्त बाटोकै समस्याले पिरोलिएका हुन्। 

पूर्व-पश्चिम लोकमार्गको स्तरोन्नति गर्न थालिएपछि बर्खाको पानी निकास थुनिँदा पानी जम्ने समस्या भइरहेका वेला त्यही ठाउँबाट ट्याक्टर, टिपरसमेत गुड्न थालेपछि स्वास्थ्य चौकी पुग्ने बाटोको बेहाल भएको हो। गोलबजार– ३, जमदह घर भएका अरुणकुमार सदाय भन्छन्, ‘स्वास्थ्य चौकीसम्म पुग्ने बाटो नै हिलाम्मे र चिप्लो छ, कसरी बिरामीलाई पुर्‍याउने भन्ने चिन्ता हुन्छ।’ प्रायः गरिब, विपन्न, गर्भवतीहरू पुग्ने स्वास्थ्य चौकीमा उपचार गरेपछि पनि कसरी फर्किने भन्ने समस्या रहेको उनले बताए। 

गोलबजार– ५ की आशिका साहले सरकारी स्वामित्वको स्वास्थ्य संस्थासम्म जाने बाटोको विषयमा स्थानीय सरकार बेखबर हुनु दुःखद रहेको बताइन्। ‘सरकारी स्वास्थ्य संस्थामा जाने गरिब विपन्न, गर्भवतीहरू बाटोमै लडेर अर्को दुर्घटना भयो भने कसले जिम्मेवारी लिने ?’ उनले प्रश्न गरिन्।

जग्गाको स्वामित्व विवादले समस्या
गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले स्वास्थ्य चौकी भवन रहेको जग्गाको स्वामित्व विवादले समस्या भइरहेको बताए। वर्षौंँ पहिले स्वास्थ्य चौकीका लागि दानमा प्राप्त जग्गाको स्वामित्वको विषयमा पछिल्लो केही वर्षदेखि दाता परिवारले मुद्दा हालेपछि सर्वोच्च अदालतसम्म पुगेको उनले बताए।

स्वास्थ्य चौकीका इन्चार्ज सत्यनारायण यादवले चौरमा जमेको पानी निकास हुन नदिएको र त्यसमाथि ट्याक्टर हिँडाउन थालिएपछि बाटो हिलाम्मे भएको बताए। ‘स्वास्थ्य चौकी भवनले चर्चेको करिब पाँच कट्ठा जग्गामा आठ-नौजनाको स्वामित्व छ भन्ने सुनेका छौँ,’ उनले भने, ‘एकाधलाई सहमत गराए पनि अन्य मान्दैनन्।’

पूर्व-पश्चिम लोकमार्गसँगै जोडिएको मुख्य बजार क्षेत्रमा रहेको स्वस्थ्य चौकीमा दैनिक औसत ८० जना बिरामी आउने जानकारी दिँदै उनले प्रायः सबैले बाटोकै विषयमा गुनासो गर्ने गरेको बताए। उनका अनुसार स्वास्थ्य चौकीमार्फत ओपिडी सेवा, क्षयरोग, कुष्ठरोग, गर्भवती जाँच, प्रसूति सेवा, हरेक मंगलबार आँखा जाँच, हरेक महिनाको ७ गते कुष्ठरोग जाँच, प्रयोगशाला, परिवार नियोजन सेवा प्रवाह भइरहेको छ।