१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८२ असार १७ मंगलबार १३:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीको जोखिमले राजमार्गछेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १३:२१:oo

शुक्लाफाँटा नगरपालिका- ११, वनहरा नदीतटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् ।

बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्व–पश्चिम राजमार्गछेउमा सर्न थालेका हुन् । लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न थालेपछि जिउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईंले बताइन् ।

‘गत वर्ष रातिका वेला सुत्ने तरखर गरिरहेका वेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्यान जोगाएका थियौँ,’ उनले भनिन्, ‘यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको वर्षा भइरहेकाले नदीमा बाढी आउने सम्भावना बढेपछि बाढी आउनुअगावै ओढ्ने, ओछ्याउने कपडासहित बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ ।’

केही भूमिहीन परिवारले दातृ निकायले उपलब्ध गराएका त्रिपाल, केहीले पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर झोपडी बनाएका छन् । जति पानी बाहिर पर्छ, त्यति नै पानीभित्र चुहिने भएकाले बालबालिकालाई काखीमा च्याप्दै भिज्दै रात काट्नुपरेको दलबहादुर बोहराले बताए । ‘वर्षा नभएका वेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौँ,’ उनले भने, ‘वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ ।’

पहिला नदीमा बाढी आउन थालेपछि सामुदायिक वन क्षेत्रको उँचो क्षेत्रमा गएर रुखमुनि ओत लाग्ने गरेको प्रकाश साउदले बताए । ‘वन क्षेत्रमा लामखुट्टेले टोकेर हैरान बनाउँथ्यो,’ उनले भने, ‘बर्खे झरीमा भिजेरै भए पनि ज्यान जोगाउने गरेका थियौँ, खाद्यान्नलगायत सामान बोकेर लैजान नसकिँदा नोक्सानी हुन्थ्यो, त्यही भएर राजमार्गछेउमा झोपडी बनाएर बस्न थालेका हौँ ।’

भूमिहीन परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । वर्षातकाे समय भएकाले मजदुरी नपाइँदा भोकभोकै बस्नुपरेको गुनासो माघी रावतले सुनाए ।

झुल, त्रिपाल र टर्च लाइटको व्यवस्था गरिदिनका लागि भन्दै वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म पटकपटक धाए पनि सुनवाइ हुन नसकेको भूमिहीन परिवार बताउँछन् । ‘सुरुमा जाँदा जनप्रतिनिधिले समस्या समाधान गर्छौँ भन्थे, अहिले जाँदा झर्केर बोल्न थालेपछि माग्नका लागि जानै छाडेका छौँ,’ भूमिहीन परिवारहरूले भने ।

शिविरमा बस्दै आएका परिवारले भूमि समस्या समाधान आयोगको लगतमा जग्गा र आवासका लागि निवेदन दिएका छन् । निस्सा प्राप्त गरे पनि अहिलेसम्म बसोबासको टुंगाे भने लाग्न सकेको छैन । वनहरा भूमिहीन शिविरमा २८ परिवारको बसोबास छ । भूमिहीन परिवारले झोपडीमा राख्नका लागि त्रिपाल, वर्षातका वेला काम नपाइँदा दुई छाक खानका लागि अन्नको व्यवस्था र रातिका वेला हिँडडुल गर्न टर्च लाइटको व्यवस्था गरिदिनका लागि दातृ निकायसँग अनुरोध गरेका छन् । रासस