१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १७ मंगलबार १२:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वायुसेवा निगम ६७ वर्षमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १२:५७:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लोपटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेंग्लाेर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्विनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा पछिल्ला वर्षमा सामान्य कार्यक्रम मात्र गर्दै आएको छ । स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन । निगमको ऋण दायित्व करिब रु. ५० अर्ब पुगेको जनाइएको छ ।

वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ ।

निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

निगमका प्रवक्ता सुवास डाँगीले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको दाबी गरे । आन्तरिक बजारमा विमानको संख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको उनले बताए । अन्तर्राष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पहल भइरहेको प्रवक्ता डाँगीले जानकारी दिए ।

निगमको ६७औँ वार्षिकोत्सवका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । वार्षिकोत्सव मूल समारोह समितिअन्तर्गत खेलकुद उपसमितद्वारा आयोजित सातदोबाटोस्थित एन्फा खेलमैदनमा प्रतियोगिता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भएको उक्त प्रतियोगितामा निगमका पुरुष कर्मचारीहरूको समूह, महिला कर्मचारीको समूह तथा निगमका कार्यकारी समूहहरूबिच छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन भएका थिए । वार्षिकोत्सवकै अवसरमा खुला कविता वाचन प्रतियोगिता तथा टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । रासस