१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o९:३९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२०औँ एसियन खेलकुद प्रतियोगिता २०२६ : एसियाडका लागि ३० खेलकुद संघले गरे एनओसीमा दर्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३९:oo
  • खेलकुद मन्त्रालयको निर्देशनपछि विभिन्न राष्ट्रिय संघले सोमबार अबेर राति २०औँ एसियाडमा सहभागिता जनाउन नेपाल ओलम्पिक कमिटिमा खेलको नाम टिपाए

राष्ट्रिय खेल संघहरूले सोमबार अबेर राति अर्को वर्ष जापानले आयोजना गर्ने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)मा आ–आफ्नो खेल दर्ता गराएका छन् । सरकार र एनओसीबिचको आपसी द्वन्द्वका कारण एसियाडमा संघले सोमबार दिउँसोसम्म पनि नाम दर्ता गराएका थिएनन् ।

जापानमा अर्को वर्ष १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने एसियाडमा ४५ राष्ट्रले भाग लिनेछन् । जसमा आयोजकले ४३ इभेन्ट्स समावेश गरेको छ । यसअघि एनओसीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दुईपटक गरी एसियाडमा खेल दर्ता सोमबारसम्म मात्र रहेको भनी पत्राचार गरेको थियो । तर, खेलमन्त्री तेजुलाल चौधरीले राज्यले मान्यता नदिएको एनओसीसँग कुनै पनि सहकार्य नगर्ने अडान लिइराख्दा एसियाडमा नेपालको सहभागिता नै अन्यौलमा परेको थियो ।

मन्त्रालयमा सोमबारै आयोजना भएको खेलकुद नीतिसँगै खेलपत्रकार र खेलाडी सम्मान कार्यक्रममा मन्त्री चौधरीले कुनै पनि अवस्थामा खेलाडी अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन वञ्चित नहुने बताए । ‘कुनै पनि विशेष कारण खेलाडीहरूले खेल सहभागिता अन्योल स्थिति उत्पन्न हुनहुँदैन । एसियाडमा सहभागिताका लागि मैले सबै संघहरूलाई निर्देशन दिइसकेको छु,’ उनले पत्रकार सम्मेलनमा बताए, ‘केही प्राविधिक कारणले कमजोर भएको थियो । यसलाई हामीले सच्याएका छौँ ।’ 

जापानको आइची–नागोयामा हुने एसियाडका लागि खेल दर्ता गर्ने अन्तिम दिन ३० जुनसम्म थियो । एनओसीले ३० जुनभित्र नेपालबाट भाग लिने खेलको दर्ता गरिसक्नुपर्ने र अन्यथा खेलाडी सहभागी हुन नपाउने प्रस्ट जनाएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)बाट आयोजना हुने सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी हुने खेलाडीको सहभागिता समन्वयन गर्ने काम एनओसीले गर्छ । आइओसी र ओसिएले एनओसीबाहेक यसबाहेक अन्य कुनै पनि संघ वा संस्थाले नामदर्ता गराउँदा मान्यता नदिने अवस्था छ । 

राष्ट्रिय खेल संघद्वारा पत्राचार
राष्ट्रिय खेलकुद परिषद्ले भने एनओसीबाट कुनै पनि आधिकारिक रूपमा पत्र नआएको बताएको छ । तर, एनओसीले भने मन्त्रालय र राखेपलाई एसियाडको सहभागिताका लागि दुई–दुईपटक पत्र पठाएको दाबी गरेको छ । ‘हामीलाई आधिकारिक पत्र आएको छैन,’ राखेप स्रोतले भने । एनओसीले सोमबार अबेरसम्म राष्ट्रिय खेल संघहरूले एसियाली खेलकुदका लागि दर्ता गर्न पत्राचार गरेको जनाएको छ । ‘सोमबार अबेर रातिसम्म हामीसमक्ष करिब ३० खेल दर्ता प्रक्रियामा आएका छन्,’ एनओसीको स्रोतले बताए । उनका अनुसार संघका अध्यक्ष र महासचिवकै हस्ताक्षरमा दर्ताका लागि पत्र आएका हुन् ।

मन्त्रालयलाई जानकारी छैन
खेलकुद मन्त्रालयबाट एसियाडमा नाम दर्ता गर्ने प्रक्रियामा कुनै कमीकमजोरी नभएको जनाएको छ । खेलाडी तथा पत्रकार सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने, ‘मलाई आज मात्र थाहा भयो, एसियाडमा खेल संघको नाम पठाउने अन्तिम दिन भनेर । त्यसपछि मैले सम्बन्धित संघका अध्यक्ष तथा महासचिवलाई प्रक्रियागत रूपमा दर्ता गराउन भनी निर्देशन दिएको छु ।’ राज्य र एनओसीबिचको आपसी अन्तरकलहले खेलाडी मारमा पर्न नहुने जनाए । ‘अहिलेको अवस्थामा जे–जस्तो भए पनि खेलाडीले भाग लिनुपर्छ । यसका लागि मन्त्रालयले सबै प्रयास गर्नेछ,’ उनले भने, ‘हाम्रो वा एनओसीका कारण खेलाडीले अन्तर्राष्ट्रिय खेल खेल्नबाट वञ्चित नहोस् भन्ने चाहन्छु र यो सवै अवैधानिक ओलम्पिक कमिटीका कारण मात्र समस्या आएको हो ।’ 

मन्त्री चौधरीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको नेपाल ओलम्पिक कमिटीसँग सम्पर्क गर्ने प्रयास गरिहेको बताए । ‘हामी सरकारको तर्फबाट हामी सबै उपाय खोज्छौँ,’ उनले भने, ‘एसियाली खेलकुदबाट नेपाली खेलाडी वञ्चित हुँदैनन्, नेपालले खेल्ने खेल दर्ता हुनेछ ।’ 

नेपालले तेस्रो युथ एसियनमा भाग नलिने
नेपालबाट यसपटक बहराइनमा हुने युथ एसियन खेलकुद प्रतियोगितामा भाग नलिने भएको छ । युथ एसियन प्रतियोगिताका लागि राज्यबाट कुनै पनि तयारी नगरेको अवस्थामा सहभागी नहुने मन्त्री चौधरीले बताए । ‘अहिलेसम्म मेरो जानकारीमा युथ एसियनको तयारी भएको छैन,’ उनले भने, ‘जब राज्यले कुनै तयारी गरेको छैन भने कसरी सहभागीइ हुन्छ ।’ पदाधिकारी विदेशतिर घुम्ने र नतिजा कुनै पनि नआउने हुँदा त्यस किसिमको प्रतियोगितामा राज्यले भाग नलिने नीति रहेको उनको भनाइ छ । ‘खै युथ एसियन गेम्सको तयारी कसले कसरी गरिरहेको छ हामीलाई जानकारी छैन,’ मन्त्री चौधरीले भने, ‘त्यसबाट केही प्रतिफल नै आउँदैन भने किन सहभागी हुने ।’

क्वालालम्पुर बैठकले तेस्रो एसियन युथ गेम्समा २१ खेल हुने निर्णय गरेको थियो । एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल (थ्री एक्स थ्री), इक्वेस्ट्रियन, इस्पोर्टस्, फुटसल, गल्फ, ह्यान्डबल, जुडो, मिक्स मार्सल आर्टस्, साइक्लिङ, स्विमिङ, टेबुलटेनिस, तेक्वान्दो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, कबड्डी, भलिबल र टेकबल हुन् ।