
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को कामकारबाहीमा जोड्नुपर्ने बताएका छन्।
पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा दाहालले पूर्वसांसदको अनुभवले कानुन पनि राम्रो बन्ने विश्वास व्यक्त गरे। राष्ट्रिय सभाले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए।
संसदमा हुने नीतिगत बहसमा सबै सांसदलाई समान सहभागी गराउनुपर्नेमा पनि उनले जोड दिए। दलीय स्वार्थभन्दा माथि उठेर सांसदले काम गर्ने वातावरण बनाउन राजनीतिक दलले सहयोग गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो।
मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकार श्रेष्ठले संसदमा हुनुपर्ने उपस्थिति र बहस हुने वातावरण अन्त्य भएकामा दुःख लागेको बताए। मञ्चका उपाध्यक्षहरू गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वरराय यादवलगायतले संसद्को भूमिका अझै प्रभावकारी बनाउन सहयोग गरिने प्रतिबद्धता जनाएका थिए।
सो अवसरमा पूर्वसांसद परशुराम मेघी गुरुङले संसद्बाट ०८१ वैशाखदेखि चैतसम्म भएका गतिविधिबारे प्रस्तुति दिएका थिए। ०१६ असार १६ गते जननिर्वाचित संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउन थालिएको हो। प्रत्येक वर्ष ३० जुनका दिन मनाइने अन्तर्राष्ट्रिय संसद् दिवस पनि आजै मनाइएको छ।