
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गरेका छन् ।
बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपाल प्राकृतिक रूपमा उच्च जोखिम रहेकाले विपत् न्यूनीकरणमा आवश्यक समन्वयको आवश्यकता औँल्याए ।
सांसद रामहरि खतिवडाले वर्षातको मौसम सुरु भएसँगै ठाउँठाउँमा बाढीपहिराले सडक, राजमार्ग अस्तव्यस्त बनाएको बताए। उनले भने, 'असारे विकासले थप अप्ठ्यारो बनाएको छ। ७७ जिल्लामा विपत् तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृह मन्त्रालयले आवश्यक तयारी गर्नुपर्छ।'
सांसद ठाकुरप्रसाद गैरेले एसइईको नतिजामा आएको सुधार सकारात्मक रहेको बताउँदै आगामी दिनमा नतिजा थप सुधार गरी प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय शिक्षा विधेयक यथाशीघ्र पास गर्नुपर्ने माग गरे। सांसद मुक्ताकुमारी यादवले जनकपुरका कलाकार अभिनाश झा (कलकतियाबाली)की श्रीमती अन्सा सदाको मृत्युको घटनाबारे छानबिन समिति गठन गर्न माग गरिन् ।