१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १४ शनिबार o७:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिशोधविरुद्ध रास्वपाको देशव्यापी हस्ताक्षर अभियान

उपत्यकाका १३ स्थानमा ऐक्यबद्धता डेस्क, आज ७७ वटै जिल्लामा सञ्चालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार o७:o७:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ । शुक्रबार रास्वपाले काठमाडौं, ललितपुर र भक्तपुरका १३ स्थानमा ऐक्यबद्धता डेस्क स्थापना गर्दै अभियान विस्तार गरेको हो । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीबाट सुरु अभियान देशभरका वडा र घरदैलोसम्म विस्तार हुने रास्वपाले जनाएको छ । 

उपत्यकाबाट बाहिरिने प्रमुख नाका कलंकी चोकमा आयोजित शुभारम्भ कार्यक्रममा रास्वपा उपसभापति डिपी अर्याल, अभियान संयोजक दीपक बोहरा र अन्य केन्द्रीय सदस्य सहभागी थिए । उपसभापति अर्यालले पार्टी कार्यालय जान नसक्ने वा नेताहरूसँग प्रत्यक्ष सम्पर्क गर्न नसक्ने आमनागरिकका लागि सहज बनाउने उद्देश्यले विभिन्न स्थानमा डेस्क स्थापना गरिएको बताए ।

उनका अनुसार कलंकीसँगै काठमाडौंमा चक्रपथका प्रमुख चोक बल्खु, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, जावलाखेल, लगनखेल, वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरलगायत स्थानमा ऐक्यबद्धता बुथ सञ्चालनमा छन् । देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न अभियानको सुरुवात गरेका लामिछानेविरुद्ध राज्यले गरेको व्यवहारको खबरदारी गर्न यो अभियान महŒवपूर्ण भएको उनको भनाइ थियो ।

‘अन्य राजनीतिक दलहरूलाई रवि लामिछानेलाई बाहिर राख्नुहुँदैन भन्ने ठूलो त्रास र डर भयो । यसैअनुसार राजनीतिक प्रतिशोध साँधेर उहाँलाई कारागारमा राख्ने जुन प्रयास गरिएको छ, यो निन्दनीय काम हो,’ उनले भने, ‘सरकारले हुर्कंदै गरेको युवा पुस्ताको आशाको किरणलाई कारागारसम्म पुर्‍याउने प्रयासविरुद्ध अभियान चलेको हो । त्यसैकारण अभियानमा स्वदेश मात्र नभई संसारभरमा रहेका नेपालीले ऐक्यबद्धता जनाइरहेका छन् ।’

रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार ७ असारदेखि सुरु अभियान देशव्यापी विस्तार भइरहेको र एक सातामा १० लाखले हस्ताक्षर गरिसकेका छन् । नेपालबाहिर रहेका नेपालीले यो हस्ताक्षर अभियानमा अत्यन्तै उत्साहका साथ सहभागिता जनाइरहेको उनले बताए । न्यौपानेका अनुसार १४ असारमा देशैभर रास्वपाका ७७ जिल्ला समितिले जिल्ला सदरमुकामकेन्द्रित हस्ताक्षर अभियान सुरु गर्दै छन् । केही दिनपछि सबै गाउँपालिका र नगरपालिकामा पालिका कमिटीले यो अभियान सुरु गर्नेछन् ।  

उपसभापति अर्यालले हस्ताक्षर अभियानसँगै आर्थिक सहयोग पनि संकलन गरिरहेको र प्रत्येक साता यसको विवरण सार्वजनिक गर्ने बताए । ‘प्रत्येक हप्ता संकलित हस्ताक्षर र आर्थिक सहयोग सार्वजनिक गरिनेछ । हामी अनुचित रूपमा चन्दा उठाउने पार्टी होइनौँ । अभियान सञ्चालन गर्न खर्च लाग्छ । हामी बाहिर व्यापारिक घरानालाई दिनुपर्‍यो भनेर जबर्जस्ती गर्दैनौँ,’ उनले थपे, ‘अभियान राजनीतिक प्रतिशोधविरुद्ध जनताको आवाजलाई सशक्त बनाउनु हो । न्यायालयमा विश्वास छ– उहाँ निर्दोष प्रमाणित भई छुट्नुहुनेछ ।’ उनले पैसाका बलमा अरू पार्टीका नेताजस्तो रास्वपाले सभापतिलाई छुटाउने खेल नखेल्ने दाबी गरे ।