१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format १४:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछामको ढकारी गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

पूर्वी अछामको ढकारी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १५ महिनामुनिका सबै पाँच सय बालबालिका खोपको पहुँचमा देखिएको र १६ महिनादेखि पाँच वर्षसम्मका जम्मा एक हजार २८४ जनाले पूर्णखोप प्राप्त गरेपछि ढकारीलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरत बुढाका अनुसार यो गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ६ को ढुंगाचाल्नामा १५ महिनामुनिका १०९ र १६ महिनादेखि पाँच वर्षसम्मका ३७८ बालबालिका रहेको तथ्यांक छ । त्यसैगरी सबैभन्दा कम बालबालिका रहेको वडा नम्बर ८ घोडासैनमा १५ महिनामुनिका बालबालिका २८ र १६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका ४५ जना रहेको बुढाले बताए । 

उनका अनुसार अन्तिम सर्वेक्षणका क्रममा गाउँपालिकाको वडा नम्बर १ मा पाँचजना, वडा नम्बर २ मा ६ जना, वडा नम्बर ५ मा दुईजना र वडा नम्बर ८ मा दुईजना गरी जम्मा १६ जना छुटेका बालबालिकालाई दादुरा रुवेला, जेई र टाइफाइडको खोप दिएपश्चात् यो गाउँपालिकाका आठवटै वडाका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् । 
तर, खोप केन्द्रका भवनहरू नहुनु, पर्याप्त स्वास्थ्यकर्मीको अभाव र न्यून सुविधाका कारण अझै चुनौती बाँकी नै रहेको हिच्मा स्वास्थ्य चौकीका प्रमुख बलबहादुर बुढाले बताए । 

स्वास्थ्य स्वयंसेवीका अमृता भण्डारीका अनुसार आमा समूहमार्फत घरघरमा पुगेर चेतना विस्तार गरेपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सम्भव भएको हो । यसमा स्वयंसेविकाहरूको ठुलो भूमिका रहेको उनले बताइन् ।

छुटेका बालबालिकाहरूसमेतलाई खोजी गरेर खोप लगाई उनीहरूको अधिकार सुनिश्चित गराइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए । अछाम जिल्लामा खोपको पहुँच बढेपछि बाल मृत्युदर घट्नुका साथै जन्मजात अपांगता हुने दरसमेत घटेको र बिरामी बालबालिकाको संख्यामा पनि सुधार आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले बताए । यसले मानवीय विकासमा समेत ठुलो सहयोग पुगेको उनको दाबी छ । 

पूर्णखोप सुनिश्चित अभियानले गुणस्तरीय मानव पुँजी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै जिल्ला समन्वय अधिकारी मेघराज शंकरले यसले सरकारको विकासका उद्देश्य प्राप्तिमा समेत सहयोग पुग्ने उल्लेख गरे । दिगो विकास लक्ष्य प्राप्त गर्न पनि यो अभियान महत्त्वपूर्ण सूचकका रूपमा रहेको उनले बताए । 

जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक ललित कुँवरले घोषणा गरेको सभामा गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेवी शाहीले यो अभियानले कुपोषित बालबालिकाको अवस्थामा सुधार आउने बताइन् । तर, अझै बालविवाह चुनौतीका रूपमा रहेको भन्दै उनले यसलाई पनि सुधार गरिने बताइन् । 

सामाजिक विकास समितिका संयोजक उद्धवराज उपाध्यायका अनुसार गर्भावस्थादेखि नै खोप पाउन थालेपछि बालबालिकाको विकासमा व्यापक सुधार देखिन्छ ।

अछाममा पछिल्लोपटक ढकारी गाउँपालिका र कमलबजार नगरपालिकासँगै पूर्णखोप सुनिश्चित घोषणा हुने स्थानीय तहको संख्या नौ पुगेको छ । अछाममा जम्मा १० स्थानीय तह छन् । अब तुर्माखाँद गाउँपालिका मात्र घोषणा हुन बाँकी छ । यो पालिका घोषणा भएपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गरिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।