
काठमाडौं स्पोर्टस् इभेन्ट्स प्रालिको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ। आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुने जानकारी दिए। बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोर्टस् पार्कमा उक्त लिग हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्। लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।
विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि व्यवस्था गरिएको बताए पनि आयोजकले रकमबारे केही दिनमा सार्वजनिक गर्ने जनाएको छ। लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए।
एकजना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ। क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ। हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ।
लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ। टिम खरिद गर्न न्यूनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए। प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फर्म्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए।