
मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित तीनजना भारतीय नागरिक र एउटा भारतीय कारलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी जिल्ला पंचमिडियानिवासी २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजितकुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल २५ हजार ४५५ क्याप्सुल र अनरेक्स १२० बोतल बरामद गरेको छ। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटेमा चेकजाँचका क्रममा उक्त परिमाणको लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
डिएसपी अर्यालले प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले भारतको मोतीहारीबाट काठमाडौंतर्फ जाँदै गरेको बिएल ०१ एडब्ल्यु १४०४ नम्बरको भारतीय कार रोकेर जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको जानकारी दिए। प्रहरीले लागुऔषध र प्रयोग गरिएको सवारीसाधन बरामद गरी तीनैजनालाई लागुऔषधसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको उनको भनाइ छ।