१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format १७:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार सय केभी प्रसारण लाइनको टावर चढेका युवकको तीन घण्टापछि उद्धार [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– २ बन्दिपुरस्थित बाबातालनजिक हुँदै गएको चारसय केभी प्रसारण लाइनको टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजेतिर स्थानीय बासिन्दाले कपडासमेत नलाएका युवक टावरमा चढेको देखेलगत्तै प्रहरीलाई खबर गरेपछि पुगेको सुरक्षाकर्मी र विद्युत प्राधिकरण ग्रिड महाशाखाका कर्मचारीको प्रयासमा करिब तीन घण्टापछि उद्धार गरिएको हो।

त्यस विषयमा सूचना पाएलगत्तै नेपाली सेनाको चोहर्वास्थित नन्दा बक्स गण, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सिरहास्थित गण नं. ७ हेडक्वार्टरबाट खटिएका सुरक्षाकर्मी र धनुषाको ढल्केबरस्थित प्राधिकरणको ग्रिड महाशाखाबाट आएका प्राविधिक कर्मचारीको सहयोगमा नाम ठेगाना नखुलेका युवकको सकुशल उद्धार गरिएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीका अनुसार करिब ८० मिटर उचाइको प्रसारण लाइनको टावरमा चढेकाले उद्धार कार्य जोखिमपूर्ण भएपनि सकुशल उद्धार गरिएको छ। ‘मानसिक सन्तुलन बिग्रिएका युवक नाङ्गै टावरको माथिल्लो पंखामा थिए,’ उनले भने ‘सुरक्षाकर्मी चढ्दा अर्को दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सादा पोशाकमा रहेकाले विद्युतका कर्मचारीमार्फत् उद्धार गरिएको हो।’

उनका अनुसार टावरमाथि रहेका युवकका लागि चाउचाउ, पानी पुर्याएर सावधानीपूर्वक खुवाएपछि सकुशल जमिनमा उतारिएको हो। तल उतारेपछि नयाँ हाफपाइन्ट ल्याएर लगाइदिएपछि मिर्चैया ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि सरकारी अस्पताल भर्ना गरिएको उनले बताए। करिब २३ वर्ष उमेरको देखिने युवकको मानसिक सन्तुलनसमेत बिग्रिएकाले राम्ररी बोल्न नसक्ने, तर कागजमा घर बिहार र सुभाष यादव भनेर लेखेर देखाएको प्रहरीले जनाएको छ।

मानसिक सन्तुलन बिग्रिएकाले नाम र ठेगाना वास्तविक हो या होइन भन्ने विषय प्रष्ट नभइसकेको प्रहरीले जनाएको छ। युवकको मानसिक अवस्था र पहिचान खुलाउने प्रयाससँगै थप अनुसन्धान थालिएको उनले बताए। चार सय केभी प्रसारण लाइनको पहिलो चरणमा ढल्केवरदेखि सुनसरीको भोक्राहासम्म गत वर्ष नै सम्पन्न भई विद्युत सुचारु गरिएको प्राधिकरणले जनाएको छ।