१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार १३:o१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमक नगरपालिकामा वडाध्यक्षहरूले पठाएनन् आयोजना तथा कार्यक्रम

१५ जेठभित्र योजना तर्जुमा गर्न पत्र पठाए पनि हाालसम्म आएनन् योजना, १० असारभित्र बजेट आउनेमा शंका

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १३:o१:oo

झापाको दमक नगरपालिकाका वडाहरूले आर्थिक वर्ष ०८२/०८३ को बजेटका योजना दर्जुमा गरेर नगरपालिकाको कार्यालयमा पठाउन इन्कार गरेका छन् । 

वडाध्यक्षहरूले प्रक्रिया पूरा नगरी दमक नगरपालिकाले आयोजना तथा कार्यक्रम छनोटको मार्गदर्शन पठाएको भन्दै बिहीबारसम्म पनि आयोजना तथा कार्यक्रम पठाएका छैनन् । 

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले १५ बैशाखमा सबै वडा कार्यालयलाई पत्र लेख्दै बजेटको मार्ग दर्शन उपलब्ध गराएका थिए । त्यो आधारमा १५ जेठभित्र आयोजना तथा कार्यक्रम पठाउन निर्देशन दिएका थिए । तर, वडा कार्यालयहरूले बजेट ल्याउने अन्तिम समयसम्म पनि आयोजना तथा कार्यक्रम छनोट गरेर पठाएका छैनन् ।

दमकमा रहेका १० वटै वडाबाट १६ करोडको योजना आउने गरी आयोजना तथा कार्यक्रम छनोट गर्न भनिएको थियो । तर, ९ नम्बर वडाले मात्र एक साताअघि योजना तर्जुमा गरेर पठाएको छ । बाँकी वडा कार्यालयले बिहीबारसम्म पनि आयोजना तथा कार्यक्रम छनोट गरेर पठाएका छैनन् ।  

स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ६६ अनुसार नगर प्रमुखको अध्यक्षतामा रहने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले फागुन महिनाभित्र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्नुपर्ने उल्लेख छ । यस्तै, उक्त समितिले निर्धारण गरेको सीमालाई प्रमुख प्रशासकीय  अधिकृतले १५ चैतभित्र नगरपालिकाको विषयगत महाशाखा, शाखा तथा वडा समितिलाई उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, दमक नगरपालिकाले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्दा तथा वडामा सिलिङ पठाउँदा स्थानीय सरकार सञ्चालन ऐन उलंघन गरेको पाइएको छ ।

समितिले ७ बैशाखमा मात्र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गरेको छ भने कानुनी व्यवस्थाअनुसार एक महिना ढिला गरी १५ बैशाखमा मात्र वडामा आयोजना तथा कार्यक्रम छनोट मार्गदर्शन र बजेट सिलिङ पठाएको पाइएको छ । 

यस्तै, वडाध्यक्षहरूले पनि स्थानीय सञ्चार सञ्चालन ऐनविपरीत माग राख्दा दमक नगरपालिकाको बजेट पेश हुने कार्यक्रम नै प्रभावित हुने देखिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) अनुमान सभामा पेश गर्नुपर्ने हुन्छ । यद्यपि सभामा पेश गर्नुअघि कार्यपालिकाबाट स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ ।

दमक नगरपालिकामा भने वडाध्यक्षहरूले प्रक्रिया मिचेर कार्यपालिकाबाट पास नगराई सिलिङ पठाएका कारण आयोजना तथा कार्यक्रम नगरमा नपठाइएको जनाएका छन् । दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले सिलिङ नगरप्रमुखले पठाएर नहुने बताए । उनले प्रक्रिया पूरा गरेर कार्यपालिका बैठकले पास गरेपछि मात्र पठाउनुपर्ने नयाँ पत्रिकासँग दाबी गरे । ‘प्रक्रिया त पूरा गर्नुप¥यो नि !,’ उनले भने,‘बजेट त असार १० गते आएन भने १२ गते आउँछ ।’
दमक–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेले विगतदेखि नै कार्यपालिकाबाट पारित गरेर मात्र सिलिङ पठाउने गरिएका कारण यसपटक पनि त्यही गर्नुपर्ने बताए । ‘विगतदेखि नै कार्यपालिकाबाट पास गराएर सिलिङ दिने प्रचलन छ । यसरी कार्यपालिकाबाट पास नगरी दिने भने कार्यपालिकाको के काम ?,’ उनले भने, ‘हामीले नगरमा आयोजना तथा कार्यक्रम नपठाए पनि टोलटोलमा छलफल गरेर योजना तयार गरेका छौँ । अहिलेसम्म कार्यपालिका बैठक बसेको छैन । १० गते आउने बजेटमा प्रभाव पर्न सक्छ ।’

यद्यपि स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडामा समितिले निर्धारण गरेको सीमा पठाउन कार्यपालिकाको बैठक आवश्यक पर्दैन । यसरी विषयगत महाशाखा, शाखा र वडा कार्यालयले नगरपालिकाको योजना, आयोजना, कार्यक्रम र अनुमानित बजेट तर्जुमा गरी कार्यपालिकामा पेश गर्नुपने स्थानीय सरकार सञ्चालन ऐनको दफा ६६ (८)मा उल्लेख छ । 

वडाध्यक्षहरूले कार्यपालिकाबाट पास नभएको भने पनि उनीहरू नगरले पठाएको सिलिङमा असन्तुष्ट छन् । स्रोतका अनुसार सबै वडामा २० करोड बराबरको सिलिङ पठाउनुपर्ने उनीहरूको माग छ । यद्यपि उनीहरूले औपचारिक रूपमा भने प्रक्रिया नपुगेको बताउँदै आएका छन् ।  

दमक नगरपालिका स्रोतका अनुसार एमालेबाट निर्वाचित वडाध्यक्ष र नगर प्रमुख थापाबीच अहिले तीव्र मतभेद छ । तर, नगरपालिकामा देखिएको समस्या समाधानमा समन्वय गर्न नगर प्रमुख थापाले कुनै तदारुकता देखाएका छैनन् । जसले गर्दा दमकमा समयमै बजेट आउनेमा आशंका उब्जिएको छ । ‘बजेटमाथि छलफल गर्नुपर्ने समयमा मेयर, उपमेयरसहितका जनप्रतिनिधि चीन भ्रमणमा लागे । वडाध्यक्षहरू अहिले पनि चीनमा छन्,’ स्रोतले भन्यो,‘अहिले जनप्रतिनिधिबीचमा तीव्र मतभेद छ । छलफल गर्नुपर्ने समयमा चीन गएको नतिजा हो । समयमा बजेट नआउन आशंका छ ।’
दमक नगरपालिकामा राप्रपाबाट प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई कांग्रेसबाट विजयी भएका छन् भने कार्यपालिका र नगरसभामा एमालेबाट दुई तिहाइ जनप्रतिनिधि विजयी भएका छन् । जसका कारण पनि दमकमा वेलावेलामा विवाद आउने गरेको छ ।

बजेट बनाउने वेलामा नगर प्रमुख थापा, उपप्रमुख भट्टराईसहित वडाध्यक्ष तथा कर्मचारी चीनमा भएको एक कृषि सम्बन्धि कार्यक्रममा जाँदा पनि समयमा बजेट आउनेमा संसय उत्पन्न भएको छ । चीनमा कृषि सम्बन्धि कार्यक्रम भनिए पनि नगरपालिकाका आधा दर्जन बढी कर्मचारी चीन लैजाँदा कृषिका एक जना कर्मचारीलाई समेत लगिएको थिएन ।

 नगर प्रमुख थापा, उपप्रमुख भट्टराईसहित केही कर्मचारीहरू ८ जेठमा चीन गएका थिए । उनीहरू ३० जेठमा मात्र फर्किएका हुन् ।  आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको अन्तिम तयारी गर्नुपर्ने वेलामा पाँच जना वडाध्यक्षहरू अझै चीनमै छन् । उनीहरू आउन अझै केही दिन लाग्ने दमक नगरपालिकाले जनाएको छ । जसको असर बजेट निर्माण प्रक्रियामा देखिएको छ । 

विगतमा नगरपालिकाले सरोकारवालासँग पनि बजेटका विषयमा व्यापक छलफल गर्ने गरेको थियो । यसपटक भने त्यो पनि गर्न सकेको छैन । ‘केही वडाध्यक्षहरू नेपालमा नभएकाले योजना तथा कार्यक्रम नआएको हुन सक्छ । हामी प्रशासनिक रूपमा १० असारमै बजेट ल्याउने तयारीमा छौँ ।

नीति तथा कार्यक्रम र आर्थिक विधेयक तयारी छ । राजनीतिक निर्णयको प्रतिक्षामा छौँ,’ दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले भने, ‘हामीले कानुनअनुसार नै वडाहरूमा समयमै सिलिङ पठाएका हौँ । वडाबाट योजना तथा कार्यक्रम आएन भने वडाको एकमुस्ट बजेट राखेर जानुपर्ने हुनसक्छ ।’

दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले कानुनअनुसार योजना तथा कार्यक्रम छनोटका लागि सीमा निर्धारण गरेर वडामा पठाइएको बताए । यद्यपि वडाबाट हालसम्म योजना तथा कार्यक्रम छनोट भएर आइनसकेको उनको भनाइ छ । ‘सबै विधि तथा कानुनी प्रक्रिया पूरा गरेर वडामा पठाएका हौँ । तर, वडाबाट आएको छैन ।

समयमा आएन भने जसले पठाउँदैन उसले नगरसभा हुन नसकेको जिम्मा लिनुपर्छ,’ नगर प्रमुख थापाले भने, ‘उहाँहरूले पठाएको योजना तथा कार्यक्रममा समय आएपछि छलफल हुन्छ । हामी असार १० गते नै बजेट ल्याउने तयारीमा छौँ । केही दिनमा कार्यपालिका बैठक बस्छ ।’