१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
यारा हवारी
२o८२ जेठ २८ बुधबार ११:oo:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘फ्रिडम फ्लोटिला’को सफलता

Read Time : > 2 मिनेट
यारा हवारी
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार ११:oo:oo
  • प्यालेस्टिनी स्वतन्त्रता पुनर्स्थापित भई जनताले न्याय प्राप्त नगरुन्जेल समुद्र प्यालेस्टिनी मुक्ति संघर्षको अग्रिम मोर्चा बनिर

इजरायली सेनाले ९ जुनको बिहान गाजा तटनजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा म्याड्लिन जहाज रोकेको छ । यसमा सात देशका १२ जना अभियन्ता र मानवीय सहयोग सामग्रीसहित खाद्यान्न थियो । जहाजमा ग्रेटा थनबर्ग पनि सामेल थिइन्, उनले प्यालेस्टिनी जनतालाई समर्थन गरेकाले इजरायली अधिकारी र नेतृत्व उनीबारे अफवाह फैलाउन र उपहास गर्न लागिपरेका छन् । यद्यपि, जहाजमा रहेको सहयोग सामग्री प्रतीकात्मक मात्र थियो, किनभने गाजालाई दैनिक पाँच सयभन्दा बढी ट्रक सामग्री चाहिन्छ ।

इजरायलले जहाज रोक्ने अपेक्षित नै थियो, तर ‘फ्रिडम फ्लोटिला कोअलिसन’ (एफएफसी) ले यसबाट गाजाको नाकाबन्दी र युद्धविरुद्ध अन्तर्राष्ट्रिय चेतना जगाउने प्रयास गरेको छ । यसअघि मे महिनामा एफएफसीको अर्को जहाज ‘कन्साइन्स’मा ड्रोन आक्रमणपश्चात् यात्रा रोकिएको थियो । म्याड्लिनले गाजाको मानवीय संकट फेरि विश्वमाझ उजागर गरेको छ । एफएफसी गाजामाथिको नाकाबन्दी तोड्न अभियन्ताले विगत १५ वर्षदेखि गरिरहेको प्रयासको एक हिस्सा हो । सन् २०१० मा टर्कीबाट ६ वटा जहाजको फ्लोटिला गाजातर्फ यात्रा गरिरहेको वेला अन्तर्राष्ट्रिय जलक्षेत्रमा इजरायली सेनाले रोक्यो । र, सबैभन्दा ठुलो जहाज मावी मर्मरामा इजरायली कमान्डोले धाबा बोलेपछिको आगलागीमा नौजना अभियन्ता र पत्रकार (सबै तुर्की नागरिक) मारिए । आजसम्म पनि मावी मर्मराका पीडितले न्याय पाएका छैनन् ।

यो रक्तरञ्जित आक्रमणपछि नोम चोम्स्कीले ‘दशकौँदेखि इजरायले साइप्रस र लेबनानबिचको अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाज अपहरण गर्दै आएको छ । यात्रुलाई मारेर फालिन्छ वा अपहरण गरेर इजरायली जेल राखिन्छ, कहिलेकाहीँ गोप्य यातनाकोठामा राखिन्छ, त कहिले धेरै वर्षसम्म बन्धक बनाएर राखिन्छ । इजरायल आफूले यस्ता अपराध निद्र्वन्द्व रूपमा गर्न सक्ने विश्वास गर्छ किनभने अमेरिकाले उसलाई संरक्षण गर्छ र युरोप पनि अमेरिकाकै नेतृत्वमा चल्छ,’ भनेर लेखेका थिए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार मावी मर्मरा र म्याड्लिन दुवैलाई अवरुद्ध गर्नु अवैध हो । इजरायली सेनालाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा अन्तर्राष्ट्रिय अभियन्तालाई हिरासतमा लिने कानुनी अधिकार छैन । प्यालेस्टिनी मूलका अमेरिकी अधिवक्ता र एफएफसी आयोजक हुवाइदा अर्राफका अनुसार ‘यी स्वयंसेवक इजरायली अधिकार क्षेत्रमा पर्दैनन् र उनीहरूलाई सहयोग सामग्री पुर्‍याउने वा अवैध नाकाबन्दी चुनौती दिने आरोपमा अपराधी ठहर्‍याउन मिल्दैन । उनीहरूको हिरासत मनोमानीपूर्ण एवं अवैध छ र तुरुन्तै यसको अन्त्य हुनुपर्छ । गाजा भूमध्य सागरको किनारमा अवस्थित छ, तर दशकौँदेखि इजरायली नाकाबन्दीले यसलाई बाह्य विश्वसँग कटाइराखेको छ । सन् २००७ देखि इजरायले हावा, जमिन र समुद्रबाट गाजालाई पूर्ण रूपमा बन्द गरेको छ । सन् १९९३ को ओस्लो सम्झौताले प्यालेस्टिनीलाई आफ्नै जलक्षेत्रमा सम्प्रभुता दिएन, बरु २० नटिकल माइल (३७ किमि) को माछा मार्ने र प्राकृतिक स्रोत उपयोग गर्ने अधिकार दियो । तर, इजरायले यो सीमा पनि मानेन र प्यालेस्टिनीलाई तटमै सीमित गर्‍यो । नतिजा, गाजाको माछा मार्ने उद्योग र अर्थतन्त्र ध्वस्त भयो । अन्तर्राष्ट्रिय कानुनअनुसार, सम्प्रभु राष्ट्रको २०० नटिकल माइल समुद्री अधिकार हुन्छ, तर प्यालेस्टिनीलाई यसको १० प्रतिशत मात्र दिइयो । इजरायली नाकाबन्दीले गाजालाई विश्वसँग जोड्न नदिई आर्थिक र सामाजिक संकट बढायो ।

माछा मारेर जीविकोपार्जन गर्ने मानिसलाई अत्यन्त सीमित क्षेत्रमा मात्र काम गर्न बाध्य बनाइयो, जसले स्वभावतः ओभरफिसिङ (अत्यधिक माछा सिकार) लाई जन्म दियो । यस नरसंहारको सुरुवातदेखि नै गाजाका माझीलाई तारो बनाएर हत्या गरिएका छन्, तिनका डुंगामा बमबारी गरिएका छन् र उपकरण नष्ट गरिएका छन् । यस्तै माझीमा म्याड्लिन कुलाब पनि पर्छिन्, कुलाब गाजाकी एक मात्र महिला माझी हुन् र उनको नाममा फ्रिडम फ्लोटिलाको जहाजको नाम राखिएको हो । चार सन्तानकी आमा म्याड्लिन यस नरसंहारमा बारम्बार विस्थापित भइरहेकी छिन् र अहिले आफ्नै क्षतिग्रस्त घरमा आश्रय लिइरहेकी छिन् । उनको माछा मार्ने पेसा अब सकिएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार नरसंहारजस्तो गम्भीर अपराध हुँदा राष्ट्र संघका सदस्य राष्ट्रले कदम चाल्नु सदस्यको कर्तव्य हो । यी राष्ट्रले नाकाबन्दी/प्रतिबन्ध र सैनिक आपूर्तिमा रोक लगाउनुपर्छ । तर, युरोपियन युनियन (जहाँबाट म्याड्लिनका धेरै कार्यकर्ता आएका थिए) दायित्वबाट मात्र पछि हटेको छैन, बरु यसले इजरायललाई हतियार आपूर्ति गरिरहने नीति पनि जारी राखेको छ । युरोपेली राष्ट्रका नेताले इजरायलको पक्ष लिए पनि युरोपका जनताको बहुमतले इजरायली शासन र यसको निरन्तर नरसंहारको घोर विरोध गरिरहेको छ ।

गन्तव्यसम्म पुग्न सकिन्न भन्ने म्याड्लिनका कार्यकर्तालाई थाहा थियो । तर, उनीहरूले जोखिमपूर्ण यस एकताको कार्यमा भाग लिने निर्णय गरे, जसले गाजाप्रति विश्वको ध्यान फर्काउन र आफ्ना सरकारको आपराधिक निष्क्रियतालाई उजागर गर्न मद्दत गरेको छ । ग्रेटाले यस क्रममा ‘हामी यो (राहत यात्रा) गरिरहेका छौँ, किनभने जस्तोसुकै परिस्थिति भए पनि हामीले प्रयास जारी राख्नुपर्छ । जुन दिन प्रयास रोक्छौँ, त्यही दिन हामीले आफ्नो मानवता गुमाउँछौँ,’ भनेकी छिन् ।

म्याड्लिन समुद्रमा रोकिए पनि यसको सन्देश धेरै टाढा पुगेको छ, अर्थात् नाकाबन्दी अदृश्य छैन, न त यो सधैँभरि कायम रहनेछ । प्रत्येक रोकिएका जहाज, प्रत्येक हिरासतमा परेका कार्यकर्ता, प्रत्येक विद्रोहले गाजा बिर्सिइएको छैन भन्ने पुष्टि गर्छ । र, जबसम्म प्यालेस्टिनी स्वतन्त्रता पुनर्स्थापित हुँदैन र जनताले न्याय प्राप्त गर्दैनन्, समुद्र प्यालेस्टिनी मुक्तिको संघर्षको अग्रिम मोर्चा बनिरहनेछ ।

(हवारी प्यालेस्टिनियन पलिसी नेटवर्क अल–सबाकाकी सहनिर्देशक हुन्) 
अल जजिराबाट