१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १३:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुप्तेश्वर गुफामा पर्यटकको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १३:३७:oo

ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटीहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र नभई भारतबाट कोटीहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको संख्यामा वृद्धि भएको हो ।

पोखरा महानगरपालिका– १७ बिरौटास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिरको गुठी जग्गामा मानव सेवा फउन्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटीहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालू आवको सोही अवधिमा एक लाख एक हजार १४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन् ।

पोखराबाहिरबाट कोटीहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स)को मनोरम दृश्यावलोकनमा आउने गरेकाले पर्यटकको संख्यामा वृद्धि भएको अध्यक्ष बाँस्तोलाले बताए ।

उनले विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेको बताए । उनले भने, ‘गुफामा पर्यटकको संख्यामा वृद्धि हुनु कोटीहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ ।’

जमिनको सतहबाट करिब सय मिटर चट्टानबाट रसाएको पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा अवस्थित महादेवको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सय मिटरको दूरीभित्र पुगेपछि खुला ठाउँ छ ।

गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ दर्शनार्थी पटकपटक यहाँ आउने गरेको उनको भनाइ छ । उनका अनुसार गुफा ०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा आएको हो ।

कोटीहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ । रासस