१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १३:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनिलस्मृतिको नीति कार्यक्रम : जनआकांक्षा पूरा गर्दै दिगो विकास र सुशासन कायम गर्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १३:३o:oo

रोल्पाको सुनिलस्मृति गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम गाउँसभामा पेस गरेको छ । सुलीचौरमा आयोजित गाउँसभाको १८औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम पेस गरेका हुन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा रोल्पा ‘क’का प्रदेश सांसद जोखबहादुर महराको प्रमुख आतिथ्यमा गाउँसभा सम्पन्न भएको हो ।

अध्यक्ष मनिराम बुढाथोकीले पेस गरेको नीति तथा कार्यक्रममा ‘जनआकांक्षा पूरा गर्ने हाम्रो संकल्प : दिगो विकास र सुशासन मात्र विकल्प’ भन्ने मूल नीति अंगीकार गरी कार्यसम्पादनलाई प्रभावकारी बनाउने उल्लेख छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायत सबैजसो विषयवस्तुलाई विभिन्न नारासहित सम्बोधन गर्ने प्रयास गरेको गाउँपालिकाले बालविवाह तथा सामाजिक अभियानहरूलाई प्रभावकारी बनाउने जनाएको छ ।

नीति तथा कार्यक्रममा लैंगिक हिंसा निवारण कोषमा वार्षिक कम्तीमा दुई लाख जम्मा गर्ने, अनाथ, असहाय तथा जोखिममा रहेका बालबालिकाका लागि बाल संरक्षण कोषमा पनि कम्तीमा दुई लाख रकम थप्दै लैजाने र जोखिम अवस्थामा रहेका अपांगता भएका व्यक्तिहरूको पुनर्स्थापित गराउन पनि वार्षिक दुई लाख कोषमा जम्मा गर्ने र उक्त रकम लक्षित वर्गमै खर्चिने उल्लेख छ । त्यस्तै, बालमैत्री वडा तथा गाउँपालिका घोषणा गर्नका लागि अवस्था आकलन गर्न तथ्यांक संकलन गरी श्वेतपत्र जारी गर्ने र त्यसैको आधारमा आर्थिक वर्ष ०८२/८३ भित्रै पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘विकासको सूत्राधार : शिक्षा नै मूल आधार’ भन्ने नारासहित शिक्षा क्षेत्रको विकास, व्यवस्थापन र नियमनका लागि पालिकास्तरमा शिक्षा ऐन, नियमावली र नीति तर्जुमा गर्ने जनाइएको छ । ‘मिहिनेत तपाईंको : जिम्मेवारी हाम्रो’ भन्ने नारासहित छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने उल्लेख छ । त्यस्तै, ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने नारासहित शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन प्रक्रियालाई निरन्तरता दिने कुरा समेटिएको छ ।

न्यायिक समितिमा सर्वसाधारणको विश्वसनीयता बढ्दै गएको अवस्थामा न्यायिक कार्यसम्पादनलाई छितो, छरितो र प्रभावकारी बनाउने जनाएको छ । ‘न्याय सम्पादन ढिलो हुनु, न्याय नपाउनुसरह हो’ भन्ने न्यायको सिद्धान्तलाई अंगीकार गर्दै ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने हेतुले काम गरिने नीति कार्यक्रममा उल्लेख छ ।

निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा पालिकालाई आत्मनिर्भर बनाउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । जसअनुसार अरेसमा अदुवा, गजुल र तेबाङमा सुन्तला र कागती, कफी, घोडागाउँ र खुङ्ग्रीमा आँप, मिझिङमा केरा र आँप, बेसारलगायत वडाको भौगोलिक अवस्था, माटोको गुणस्तर तथा हावापानीको अनुकूलनतालाई समेत दृष्टिगत गरी बालीवस्तुको विशिष्टीकृत उत्पादन गर्न प्राथमिकता दिने उल्लेख छ । ‘वन–वनमा चिउरी, घर–घरमा मौरी’ भन्ने नारासहित मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने जनाएको छ ।

गाउँसभामा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गाउँपालिकाले अहिलेसम्म राम्रो अभ्यास गर्दै आएको बताउँदै पालिकाको समृद्धिका आधारहरूलाई पहिचान गर्दै त्यसैमा लगानी गर्नुपर्ने बताए । सभामा प्रस्तुत नीति तथा कार्यक्रमबारे दफावार छलफल हुनेछ । छलफलकै क्रममा नीति तथा कार्यक्रमको अधीनमा रही बजेट तर्जुमा गरेर पास गर्ने कार्यक्रम रहेको गाउँपालिकाको सचिवालयले जनाएको छ ।