१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १२:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यावसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १२:५५:oo

षडानन्द नगरपालिका– १०, तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरू चिराइतो खेतीमा जुटेका हुन् ।

षडानन्द– १०, साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका १२० भन्दा बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ ।

‘चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्य बालीको तुलनामा जडीबुटी चिराइतो खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेका देखिन्छन् । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ उनले भने ।

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो बिक्रीबाट सात लाख आम्दानी गरेको उनले बताए ।


उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए । गत वर्ष एक मन (४० केजी) चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजारसम्ममा बिक्री भएको उनले जानकारी दिए । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतो खेतीमा जुटेको उनको भनाइ छ ।

‘मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु,’ उनले भने, ‘चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको अवस्था छ । त्यही भएर धेरै किसान यसको व्यावसायिक खेतीमा  लागेका छन् ।’ चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्न योग्य हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा संकलन गरिने शेर्पाले बताए । पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए । राज्यको तहबाट रोग, किरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ ।

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ । चिराइतो षडानन्द नगरपालिकाको वडा नं. १०, ११ र १३ को माथिल्लो भेग,  टेम्केमैयुङ –५ मझौले, तिम्मा, दोभाने, हेलौँछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत स्थानमा व्यावसायिक खेती हुने गरेको छ । रासस