
बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताले राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालयमा तालाबन्दी गरेको छ। सूचनाको हक प्रयोग गर्दै आइतबार सूचना माग्न कार्यालय गएको टोलीले मागेअनुसार सूचना तथा जानकारी प्राप्त नभएपछि इमेजपीडित संघर्ष समितिले कार्यालयका सेवाग्राही र कर्मचारीलाई भित्रै थुनेर बाहिरबाट ताला लगाएका हुन्।
राष्ट्रिय सहकारी बैंकले किस्ता-किस्तामा इमेज सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको घरजग्गा लिलामीको सूचना निकालेपछि पीडितहरूले त्यसबारे सूचना माग गरेका थिए।
पोखरा र बागलुङको घरजग्गा यस अगाडि नै लिलाम भैसकेको छ भने बुर्तिबाङको घरजग्गा लिलामीका लागि शुक्रबार सूचना प्रकाशित भएको थियो। सूचना प्रकाशित भएको थाहा पाएपछि संघर्ष समिति अध्यक्ष नेपाली, इमेज सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकबिच भएको सम्झौतापत्र, धितो जग्गाको मन्जुरीनामाको पत्र, बैंक स्टेटमेन्ट र लिलाम सूचना निर्णयको प्रतिलिपि माग गर्दै राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालय पुगेको थियो।
सूचना नपाएपछि ताला लगाएको इमेजपीडित संघर्ष समितिको संयोजक डिलबहादुर कार्कीले बताए। ‘देवकुमार नेपालीको एक अर्ब पर्ने सम्पत्ति सहकारी बैंकले सुटुक्क सूचना निकालेर १२ करोडमा लिलाम गर्न लागेको थाहा पाएपछि सूचना हक प्रयोग गर्दै कार्यालय गएका थियौं,’ उनले भने, ‘सूचना नपाएपछि ताला लगाएका हौँ। अहिले सिडिओ कार्यालयमा छलफलमा छौँ।’ इमेजपीडितले ताला लगाएपछि राष्ट्रिय सहकारी बैंकका कर्मचारी र सेवाग्राहीसमेत भित्रै थुनिएका छन्।
जिल्ला प्रशासन कार्यालयमा छलफल भैरहेकाले आफूहरूले सुरक्षा दिएर बसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। सहकारीमार्फत दुई अर्बभन्दा बढी घोटाला गरेको आरोपमा कास्की र बागलुङ अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। पीडितले भने आफ्नो बचत फिर्ता नभएसम्म निरन्तर संघर्ष गर्ने बताएका छन्।