
ध्वस्त गाजाको दर्दनाक कथा
केटाकेटी हुँदा भाइबहिनी र म नियमित रूपमा खाजा खाने पैसा जोगाएर नयाँ–नयाँ किताब किन्थ्यौँ । आमाले किताबप्रतिको मोह जगाइदिनुभएको थियो । पढ्नु केवल एउटा सोख मात्र थिएन, जीवनयापन गर्ने माध्यम पनि थियो । मलाई अझै पनि त्यो दिन याद आउँछ, जुन दिन हाम्रा आमाबाबुले घरमै पुस्तकालय खडा गरिदिनुभयो । धेरै तखता भएको अग्लो र चौडा पुस्तकको दराजलाई लिभिङ रुममा राखिएको थियो । म केवल पाँच वर्षको थिएँ, तर मैले सुदेखि नै पुस्तकालयको महत्व महसुस गरेँ । धर्म, दर्शन, राजनीति, भाषा, विज्ञान, साहित्यसम्बन्धी विविध पुस्तक संग्रह गर्न मेरो बुबा दृढ देखिनुहुन्थ्यो । उहाँ स्थानीय पुस्तकालयसँग प्रतिस्पर्धा गर्न सक्ने पुस्तकको भण्डार होस् भन्ने चाहनुहुन्थ्यो । प्रायः गाजाको सबैभन्दा प्रतिष्ठित पुस्तक पसल जान्थ्यौँ र कुनै न कुनै किताब किन्थ्यौँ ।
युद्धअगाडि गाजाको साक्षरता दर लोभलाग्दो थियो । पढाइप्रति मोह बढाइराख्न गाजाका विद्यालयले पनि प्रोत्साहन गर्थे । विद्यालयले पुस्तक मेला, रिडिङ क्लब गठनदेखि अध्ययन तालिमको चाँजोपाँजो मिलाए । पुस्तकालय नजिकको मित्र बन्यो, जसले दुःखका वेला साथ दिन्थ्यो । किताब युद्ध र शान्ति दुवै समयमा हाम्रो सान्त्वना मात्र बनेन, बम विस्फोटका कारण क्षणिक उज्यालो बनेका डरलाग्दा रातमा बाँच्ने आधारसमेत बन्यो । चिसो रातमा आगो नजिकै भेला भएर हामी प्रसिद्ध साहित्यकार घासन कानाफानीका कृतिमा रमाउनेदेखि महमुद दरविशका कविता श्रवण गर्थ्यौँ ।
सन् २०२३ को अक्टोबरमा नरसंहार सुरु हुँदा गाजामा नाकाबन्दी कठोर बनाइयो । पानी, इन्धन, औषधि र पौष्टिक खाना ठप्प पारियो । युद्धको कठिन अवस्थामा जब खाना पकाउने ग्यास सकियो, मानिसले जे भेट्यो, त्यही जलाउन थाले । बम विस्फोटपछि भत्किएका घरको भग्नावशेषका काठदेखि वर्षौंदेखि आफैँले पढेका पुस्तक बाल्नुको विकल्प थिएन । युद्ध चर्किरहेका वेला अधिकांश बालबालिकाले आफ्नो शैक्षिक यात्रामा पूर्णविराम लगाए । उनीहरूले भर्खरै छापिएका स्कुलका पुस्तक जलाए । तिनै किताब जलाएर परिवारले खाना तयार पार्थे । पहिले उनीहरूको दिमागलाई बौद्धिक खुराक पस्किने पुस्तक खाना पकाउनका लागि आगो बन्दा शरीर जिरिंग हुन्थ्यो । किताब जलेको दृश्यले म भावुक बन्थेँ । मेरा ११ वर्षीय भतिज अहमदले भन्न थाले, ‘भोकै मर्ने कि निरक्षरताको जाँतोमा पिसिने ? अहिले म केवल बाँच्न चाहन्छु । बाँच्यौँ भने पढाइ त जसोतसो फेरि सुरु गर्न सकिन्छ नि ।’ उनको जवाफले मलाई भित्रैसम्म कम्पन ल्यायो । जब पकाउने ग्यास सकियो, मैले दाउरा किन्ने जिद्दी गरेँ, तथापि यसको मूल्य अकल्पनीय थियो । बुबाले मलाई मनाउन खोज्नुभयो, ‘युद्ध समाप्त भएपछि म तिमीलाई चाहिने सबै किताब किन्नेछु । तर, अहिलेका लागि इन्धनका रूपमा यी पुस्तक प्रयोग गरौँ ।’ मैले अझै पनि अस्वीकार गरेँ । ती किताब हाम्रा उतारचढाव, हाम्रा आँसु, हाँसो, हाम्रा सफलता र असफलताका साक्षी हुन् ।
हामी कसरी तिनीहरूलाई जलाउन सक्थ्यौैँ ? मैले केही किताब एकपटक, दुईपटक, तीनपटक गरेर पुनः पढ्न थालेँ । पुस्तकका गाता, शीर्षक, पृष्ठहरूको संख्या पनि सम्झन थालेँ । पुस्तक जलाउनु र पुस्तकालय नष्ट गर्नु अर्को बलिदान हुन सक्छ भन्ने डर लाग्थ्यो ।
पुस्तक बन्यो इन्धनको विकल्प
जनवरीमा अस्थायी युद्धविराम समाप्त भएपछि अन्ततः गाजामा खाना पकाउने ग्यास ल्याउन अनुमति दिइयो । म र मेरा केही पुस्तक यस नरसंहारबाट बच्न पायौँ भन्दै राहतको सास फेरेँ । त्यसपछि मार्चको सुरुमा फेरि नरसंहार सुरु भयो । सबै मानवीय सहायता अवरुद्ध भयो, खानेकुरा, चिकित्सा आपूर्ति र इन्धन प्रवेशमा पूर्ण रोक लगाइयो । तीन साता नबित्दै ग्यास सकियो । पूर्ण नाकाबन्दी र ठुलो बमबारीले इन्धनको विकल्प खोज्न बाध्य पार्यो ।
वास्तविकताबोध गर्नुको कुनै विकल्प थिएन । घरको पुस्तकालयअगाडि उभिएर मैले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका पुस्तक समाएँ । मैले निर्णय गरेँ कि तिनीहरूलाई पहिला इन्धनका रूपमा प्रयोग गर्नुपर्छ । हामीलाई स्कुलमा यी कानुनी मान्यता सिकाइयो, हामीलाई विश्वास दिलाइएको थियो कि प्यालेस्टिनीको रूपमा हाम्रो अधिकार ती मान्यताले सुनिश्चित गरेका छन् र एक दिन तिनीहरूले हामीलाई मुक्तितर्फ लानेछन् । तर, यी अन्तर्राष्ट्रिय कानुनले हामीलाई कहिल्यै सुरक्षित गरेनन् । बरु नरसंहार गर्न छुट दिइएको छ ।
गाजालाई अर्को नैतिक संकटमा पुर्याइएको छ, जहाँ कुनै अन्तर्राष्ट्रिय कानुन, नैतिकता र मानव जीवनको कुनै मूल्य छैन । जसरी अनगिन्ती परिवारलाई बमले टुक्रा–टुक्रा पारेको थियो, त्यसलाई सम्झँदै मैले ती पृष्ठलाई पनि च्यातेर टुक्रा–टुक्रा पारेँ । मैले च्यातिएका पृष्ठलाई आगोमा राखिदिएँ र पुस्तक खरानी भएको हेरेँ । जिउँदै जलाइएकाहरूको सम्झनामा एक पीडादायी उपहारस्वरूप पुस्तक जलाइदिए । प्रेस टेन्ट आक्रमणमा जिउँदै जलाइएका पत्रकार अहमद मन्सुर र अन्य अनगिन्ती व्यक्तिको सम्झनामा पुस्तक जलाइदियौँ । त्यसपछि, औषधि विज्ञानमा स्नातक मेरा भाइका सबै औषधि विज्ञानका पुस्तक जलाइदियौँ । उनको वर्षौंको कडा परिश्रमको खरानीमा खाना पकायौँ । तैपनि, यो पर्याप्त थिएन । आगोले पुस्तकका सेल्फहरू एकपछि अर्को गर्दै निल्योे ।
तर, अपरिहार्यबाट भाग्ने कुनै उपाय थिएन । हामी चाँडै नै मेरा पुस्तकतर्फ लाग्यौँ । मलाई महमुद दरविशको कविता संग्रह, जिब्रान खलिलका उपन्यास (प्रतिरोधको आवाज), समिह अल–कासिमका कविता, अब्देल रहमान मुनिफका उपन्यास (जुन मलाई प्रिय थिए), ह्यारी पोटर उपन्यास (जुन मैले किशोरावस्थामा पढेको थिएँ ) र मेरा चिकित्सा अध्ययनका पुस्तक जलाउन थाल्यौँ । जब म त्यहाँ उभिएर आगोले तिनीहरूलाई भष्म बनाएको हेरिरहेको थिएँ, मेरो मुटु पनि जल्यो ।
म १५ वटा पुस्तक बचाउन सफल भएँ । यी प्यालेस्टिनी मुद्दाबारे इतिहासका, हाम्रा पुर्खाका कथा र मेरी हजुरआमाका पुस्तक हुन् । हजुरआमालाई नरसंहारका क्रममा निर्दयी ढंगले हत्या गरिएको थियो । अस्तित्व भनेको प्रतिरोध हो, यी पुस्तक मेरा प्रमाण हुन् कि मेरो परिवार सधैँ प्यालेस्टाइनमा रहनेछन् र हामी सधैँ यस भूमिका मालिक छौँ ।
(गाजाको अल–अजहर विश्वविद्यालयकी मेडिकल विद्यार्थी अबोको आलेख अलजजिराबाट सुभाष शर्माले अनुवाद गरेका हुन् )