
करिब दुई महिनाको अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४९मिटर) र विश्वको पाँचौँ अग्लो मकालु हिमाल (८४८५मिटर) सफल आरोहण गर्ने संखुवासभाकी छोरी किपा लामु शेर्पा सम्मानित भएकी छिन् ।
बिहीबार सदरमुकाम खाँदबारीमा जिल्ला समन्वय समिति संखुवासभाले किपा लामु शेर्पालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरेको हो। जिल्लाको मकालु गाउँपालिका– २ मा जन्मिएकी किपा लामुले यही वर्ष एक महिनाको अवधिमा दुई अग्लो हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी हुन् । ०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी २८ वर्षीय किपा लामु तीनजना छोराछोरीका आमा हुन् ।
उनी गत १० अप्रिल अर्थात् चैत्र २८ गते १२ दिनमा विश्वको पाँचौँ अग्लो मकालु हिमाल चढेकी थिइन् भने २३ मे अर्थात् जेठ ९ गते चार दिनमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल चढेर गृह जिल्ला संखुवासभा फर्किएकी हुन् । सम्मानपछि किपा लामुले हिमाल आरोहण गर्न त्यति सजिलो नभएको बताइन्। उनले हेर्दा जति सजिलो होला जस्तो लागे पनि ज्यानैको जोखिम मोलेर हिमाल चढ्न कठिन रहेको बताउँदै चुचुरोमा पुगेपछि सबै दुःखहरू बिर्सने गरेको बताइन्।