
बाँसबारी माविले काठमाडौं महानगरपालिका– ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ। बालुवाटारमा बिहीबार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो।
हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुईदिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३१९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो। नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसिसिएस) ५३ अंकसहित उपविजेता बन्यो। महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो।
व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की सबभन्दा बढी ४ अंक बटुल्दै कक्षा १ देखि ४ गर्ल्समा प्रथम भइन्। बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रबाराही माविकी सन्ध्याकुमारी शाह र महेन्द्र राष्ट्रियकी आशिका लोप्चनले समान ३–३ अंक जोडे पनि टाइब्रेकरको आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भए।
ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी ५ खेल जित्दै पहिलो भए। एनसिसिएसका अर्णव मानन्धरले समान ४ अंक जोडेका आफ्नै स्कुलका श्रेयांश सापकोटालाई टाइब्रेकरमा उछिन्दै दोस्रो स्थान हात पारे।
कक्षा ५ देखि ८ गर्ल्समा एनसिसिएसकी आराध्य गुप्ता ५ अंक जोड्दै पहिलो भइन्। धुम्रबाराहीकी समीक्षा नेपाल (४.५ अंक) दोस्रो र बाँसबारीकी अप्सरा खत्री (४ अंक) तेस्रोमा रहे। ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६.५ अंकसहित प्रथम भए। समान ६ अंक जोडेका बाँसबारीका शिशिर ढकाल दोस्रो र सुमिर तामाङ तेस्रो स्थानमा रहे।
त्यस्तै, कक्षा ९ देखि १२ गर्ल्समा बागमती बोर्डिङकी देवयानी गुरागाईंले ५ अंक बनाउँदै शीर्षस्थान कब्जा गरिन्। बागमतीकै मायुमी राई ४ अंकसहित दोस्रो भइन्। उति नै अंक जोडे पनि टाइब्रेकरमा पछाडि परेपछि एनसिसिएसकी आँचल चौधरी तेस्रोमा सीमित हुनुपर्यो।
ब्वाइजतर्फ न्युटन हाइस्कुलका सोहन प्रजापतिले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे। बृहस्पति विद्यासदनका प्रेमविक्रम अधिकारीले समान ६ अंक बनाएका बागमतीका आयुष बस्नेतलाई टाइब्रेकरमा पन्छाउँदै दोस्रो स्थान हात पारे।
बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा आयोजित प्रतियोगिताका च्याम्पियन तथा विभिन्न ६ स्पर्धाका विजेताहरूलाई काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, चेसकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।