
मंगलसेन–९ अछामको मंगला नेपाल राष्ट्रिय माविमा दुई वर्षअघिसम्म महिनावारीका कारण छात्रा अनुपस्थित हुने दर अत्याधिक थियो, तर अहिले त्यो दर शून्यमा झरेको छ । कक्षामै निःशुल्क सेनेटरी प्याड उपलब्ध हुन थालेपछि छात्रा उपस्थित दर सुध्रिएको हो।
‘महिनावारी भएकै कारण अनुपस्थित हुने दरलाई शून्यमा झारेका छौँ,’ शिक्षिका धनकला ठकुल्लाले भनिन्, ‘परिस्थितिवश अनुपस्थित हुनेबाहेक यसले उपस्थिति दर र शैक्षिक सुधारमा निकै ठुलो भूमिका खेलेको छ।’
उनका अनुसार विगतमा यो विद्यालयका छात्राहरू महिनावारी हुँदा घरमै बस्ने गरेका थिए भने पढ्दापढ्दै महिनावारी हुँदासमेत बिचमै कक्षा छाडेर घर जाने गरेका थिए।
हाल सरकारले विद्यालयमा अनिवार्य सेनेटरी प्याड उपलब्ध गराएको छ। विद्यालयमा सेनेटेरी प्याड उपलब्ध भएपछि भने छात्राहरू कहिल्यै पनि अनुपस्थित नभएको शिक्षिका निर्मला रावलले बताइन्। छात्राहरूको मागलाई ध्यानमा राखी सेनेटरी प्याड व्यवस्थापनका लागि विद्यालयमा प्राथमिक उपचार कक्षको स्थापना गरिएको उनले बताइन्।
विद्यालयका प्रधानाध्यापक मीनबहादुर भण्डारीका अनुसार जम्मा २९८ छात्राहरु रहेको मंगला नेपाल राष्ट्रिय माविमा १७३ जना छात्रा महिनावारी उमेर समूहका छन्। उनीहरू सबै महिनावारी चरणमा ढुक्कले प्याड माग्छन्। ‘महिनावारी हुँदा हामी ढुक्कले प्याड माग्छौँ। यो विषयमा लजाउने कोही पनि छैन,’ कक्षा १० की छात्रा निर्मला विकले भनिन्, ‘प्याड उपलब्ध हुनु र प्रयोगबारे पर्याप्त ज्ञान मिलेका कारण हामीलाई धेरै सहज भएको छ।’ कतिपय विद्यालयमा सेनेटरी प्याड भए पनि अझै छात्राहरू महिनावारीका वेला अनुपस्थित हुनुको कारण यसको पहुँच र मजबुद व्यवस्थापन नहुनु रहेको उनले बताइन्।
अछामका धेरै विद्यालयमा प्याड फेर्ने कक्षको अभाव र प्रयोग भइसकेको प्याड फाल्ने ठाउँ व्यवस्थापन नहुँदा अहिलेपनि छात्राहरू समस्यामा छन्।
विगतमा यस्तै समस्या झेल्दै आएको मंगला नेपाल राष्ट्रिय मावि ओलीगाउँमा भने अहिले छुट्टै प्राथमिक उपचार कक्ष स्थापना गरेर विद्यालय नर्ससमेत भर्ना गरिएको छ। जसका कारण महिनावारी हुँदा छात्राहरूले कुनै समस्या भोग्नुपरेको छैन। ‘अहिले त धेरै सजिलो भएको छ। हामी आफैँ पनि पहिलेभन्दा बुझ्ने भएका छौँ,’ कक्षा ११ मा अध्यनरत झरना जोसीले भनिन्, ‘प्याड प्रयोगको तरिका र डिस्पोज गर्ने उपाय पनि सिकेका छौँ।’
मंगला नेपाल राष्ट्रिय माविमा मात्र होइन् मंगलसेनका १४ वटा विद्यालयमा यसरी नै सेनेटरी प्याडको पहुँच विस्तार गरिएको छ। नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलका अनुसार ११ मावि र तीनवटा आधारभूत विद्यालय गरी १४ वटा विद्यालयमा अध्ययनरत महिनावारी उमेर समूहका छात्राहरूका लागि वर्षेनी करिब १८ लाख रकम खर्च गरेर प्याड खरिद गर्ने गएिको छ ।