
स्वास्थ्य मन्त्रालयले स्राेत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाटै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका अस्पतालको संख्या ५७ रहेको छ ।
आगामी आर्थिक वर्षमा समेत यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्डसमेत अभाव देखिएकाले पाँच, १० तथा १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरू सञ्चालनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८२ निर्माण गरिसकेको छ ।
मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधि तथा रिएजेन्ट्सलगायतका अत्यावश्यक संसाधन व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रस्टता ल्याउन सघाउनेछ ।
मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले आधारभूत अस्पताल सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।