
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रस्तुत गरेका छन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका रहेका कारण कर्णाली प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
रोजगारी सिर्जना र गरिबी निवारण गरी समृद्ध कर्णाली : सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्ने मार्गचित्रको रूपमा नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको प्रमुख मियाँले बताए । चालू तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि गर्ने उनले बताए ।
त्यस्तै, तहगत सरकारको सहकार्यमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । उनले सडक, सडक पुल र झोलुङे पुललगायतका पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । भूमिको प्रकृतिअनुसार वर्गीकरण तथा भूउपयोग योजनाअनुरूप कृषियोग्य भूमिको दिगो व्यवस्थापनमार्फत उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको उनले बताए ।
प्रादेशिक लोकमार्ग तथा प्रादेशिक सडकहरूको प्राथमिकता निर्धारण गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख मियाँले बताए । ‘आधा घण्टाको हिँडाइ/फेरोभित्र पहुँच पुर्याउन झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र प्रदेशबाट पूर्ण रूपमा तुइन विस्थापन गरिनेछ,’ उनले भने, ‘प्रादेशिक लोकमार्ग र प्रादेशिक सडकमा पर्ने सडक पुल निर्माण कार्यलाई निरन्तरता दिई सर्वयामसवारी साधन सञ्चािलन हुने व्यवस्था मिलाइनेछ ।’
प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने र सुर्खेत मेडिकल कलेज स्थापना गर्न सङ्घीय सरकारसँग पहल गरिने मियाँले बताए । कर्णाली प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन अभियान सञ्चालन गरिने तथा एकीकृत विद्यालय स्वास्थ्य कार्यक्रम लागू गरिने मियाँले बताए ।