
सन् २०२४ मा एल साल्भाडोरको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिँदा नै नयिब बुकेलेको निरंकुश प्रवृत्ति स्पष्ट भइसकेको थियो । उनले पहिलो कार्यकालमा देशभर दुई वर्षको ‘अस्थायी’ आपत्काल लागू गरेका थिए । आपत्काल अवधिमा विनाकुनै कानुनी प्रक्रिया शंकाकै भरमा दसौँ हजार मानिस गुन्डा समूहका सदस्य भनेर पक्राउ परे । त्यस्तै, त्यही अवधिमा बुकेलेले अदालतको फैसलालाई बेवास्ता गर्ने मात्र होइन, सेना प्रयोगको धम्की दिएर सांसदलाई आफ्नो पक्षको कानुन पास गर्न धम्क्याउने कामसमेत गरेका थिए ।
सन् २०२१ मा बुकेलेको पार्टीले संसद्मा भारी बहुमत हासिल गरेको थियो । त्यस बहुमतलाई उनले न्याय क्षेत्रमा आफूप्रति बफादार भर्ती गर्न प्रयोग गरे । एल साल्भाडोरको संविधानमा कुनै व्यक्ति पाँच वर्षको एक कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने व्यवस्था थियो । तर, पहिलो कार्यकालमा आफूले चुनेका न्यायाधीशले उनका लागि दोस्रो कार्यकाल पनि उम्मेदवार बन्न पाउने बाटो खोलिदिए । विगतमा भएका चुनावमा उनको दलले आपराधिक समूहसँग सम्झौता गरेर समर्थन लिएको प्रमाणसमेत भेटिएको छ । तथापि, यी सब कुराले साल्भाडोरवासीलाई प्रभावित गरेन । तिनले बुकेलेलाई ८५ प्रतिशत भारी मत दिएर दोस्रो कार्यकालका लागि चुनाव जिताए ।
साल्भाडोरवासी बुकेलेले देशमा ल्याएको सुरक्षित वातावरणप्रति कृतज्ञ थिए । चुनावमा तिनले सोही कृतज्ञतालाई मतपत्रमार्फत व्यक्त गरेका थिए । आखिर, एल सल्भाडोर त्यही देश थियो, जो दशकौँसम्म ठुल्ठुला आपराधिक गुन्डा समूहबाट आतंकित रह्यो । हरेक ससना पसलदेखि बस कम्पनीसम्म जबर्जस्ती चन्दा दिन बाध्य थिए । प्रतिद्वन्द्वी समूहबिच प्रभावका लागि खुलेआम मारकाट हुन्थ्यो । यसैकारण सन् २०१५ मा त्यहाँको हत्यादर प्रतिएक लाख मानिसमा १०६ थियो, जुन विश्वमै सबैभन्दा उच्च थियो ।
बुकेले राष्ट्रपति बनेपछि गुन्डा समूहविरुद्ध ठुलो सैन्य अभियान चलाए । ८५ हजार मानिसलाई जेल हालियो, जुन एल साल्भाडोरका कुल युवा जनसंख्याको झन्डै ८ प्रतिशत हो । ट्याटु लगाएकै आधारमा वा कसैले दिएको सुराकीका आधारमा वा प्रहरीको अनुमानकै भरमा जोकोहीलाई पनि गुन्डा भन्दै कुनै कानुनी प्रक्रियाविना अनिश्चित कालसम्म बन्द गर्न सकिन्थ्यो । यही कारबाहीको परिणामस्वरूप सन् २०२४ सम्म आइपुग्दा देशको सरकारी तथ्यांकअनुसार हत्यादर प्रतिएक लाख १.९ जनामा झरिसकेको थियो । यो संयुक्त राज्य अमेरिकाको हत्यादरभन्दा कम हो । जबर्जस्ती चन्दा असुली अहिले लगभग गायब भएको छ । हुन पनि कसैलाई पनि आफूलाई गुन्डा भनेर तर्साउने त परको कुरा पहिचान खुलाउनसमेत डराउने अवस्था छ ।
मतदाता देशमा नयाँ विकसित सुरक्षाप्रति यति कृतज्ञ थिए कि तिनले बुकेलेले शक्ति हत्याउँदै लगेको कुराप्रति आँखा चिम्लिदिए । केही उदारवादीले भने यस अवधिमा पनि अधिक शक्ति हासिल गरे बुकेलेले एक दिन आफ्नो दमनको हतियारलाई अझ व्यापक बनाउने चेतावनी दिइरहे । र, दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएको एक वर्षपछि, उनी अहिले त्यही नै गर्न थालेका छन्, जुन डर थियो । उनले आफ्नो सरकारको दमनबारे लेख्ने पत्रकार, सरकारी खर्चमाथि प्रश्न उठाउने श्रमिक नेता र जग्गा कब्जाको विरोधमा प्रदर्शन गरिरहेका किसान पक्राउ परेका छन् । मे १८ मा उनका कार्यकर्ताले एक प्रख्यात मानव अधिकारकर्मी वकिल रुथ लोपेजलाई पक्राउ नै गरे ।
गत मे २० मा राष्ट्रपतिका अघि निरीह देखिइरहेको संसद्ले भ्लादिमिर पुटिनको दमनको नक्कल गर्ने कानुन पारित गर्यो । यस कानुनअनुसार विदेशी रकम लिने वा विदेशीको ‘हितप्रति प्रतिक्रिया दिने’ संस्थाले अब विदेशी एजेन्टको रूपमा मात्र दर्ता गर्न पाउनेछन् । त्यस्तो संस्थाको कडाइका साथ निगरानी हुने र प्रशासनले चाहेमा जुनसुकै वेला बन्द गर्न सकिनेछ । यस कानुनले मानव अधिकार समूह, भ्रष्टाचारविरोधी एनजीओहरू र यस्तै अन्य संस्थालाई निस्तेज बनाउनेछ ।
बुकेलेले संविधानलाई सहजताका साथ पुनर्लेखन गर्न सक्ने गरी आफूलाई अधिकारसम्पन्न गरेका छन् । विपक्षीलाई अहिले त्रसित पारिएको छ । प्रायः निगरानी गर्ने समूह दबाइएका छन् । यसले गर्दा यी ४३ वर्षीय राष्ट्रपतिलाई अब बुढेसकालसम्म देशमाथि शासन गर्नबाट कसैले रोक्न सक्ने देखिँदैन ।
आफैँले आफूलाई ‘विश्वको सबैभन्दा ‘बिन्दास’ तानाशाह’ बताउने बुकेलेले अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूल्यहीन विदेश नीतिको पनि लाभ उठाइरहेका छन् । पूर्वराष्ट्रपति जो बाइडेनले बुकेलेको शक्ति हत्याउने प्रयासको विरोध गर्दै उनका केही भ्रष्ट सहयोगीमाथि प्रतिबन्ध लगाएका थिए । जबकि, अहिले ट्रम्प सल्भाडोरका राष्ट्रपतिले ‘उत्कृष्ट काम’ गरिरहेको भनेर बुकेलेको प्रशंसामा उत्रिएका छन् । यसको गुन बुकेलेले पनि तिरेका छन् । उनले राष्ट्रपति ट्रम्पले पठाएका कैयौँ आप्रवासीलाई थुन्नका लागि एल साल्भाडोरको क्रूर जेल प्रयोग गर्न छुट दिएका छन् ।
यद्यपि देशिभित्र बुकेलेको लोकप्रियता खस्कन थालेको छ । धेरै साल्भाडोरवासी आफ्नो देश अमेरिकाको जेलर भएकोमा असन्तुष्ट देखिन्छन् । सडकहरू सुरक्षित बनेका छन्, तर अर्थतन्त्र अझै कमजोर नै छ । गरिबी घट्नुको सट्टा झन् बढ्दै गइरहेको छ । धेरै सार्वजनिक सेवाको अवस्था निराशाजनक छ । त्यसबाहेक देशमा शीर्ष स्थानमा विचित्र भ्रष्टाचारको गन्ध आउन थालेको छ । राष्ट्रपति बनेपछि गुन्डा समूहविरुद्ध कठोर अभियान चलाएका बुकेलेको विगतमा तिनै समूहसँग राम्रो सम्बन्ध रहेको समाचार बाहिरिएका छन् । एल फारो नामक एक समाचार आउटलेटको समाचारअनुसार बुकेलेले आफ्नो पहिलो ठुलो चुनाव अर्थात् राजधानी सान साल्भाडोरको मेयर पद जित्न गुन्डा समूहको सहयोग लिएका थिए । ती समूहले बुकेलेको कार्यकालमा शवहरू राम्ररी लुकाएर हत्यादर कम देखाउन सहमति जनाएको पनि समाचारमा उल्लेख छ ।
ट्रम्पले बाइडेनको शासनकालमा अमेरिकामा पक्राउ परेका र बुकेलेका कतुर्त बक्न सक्ने गुन्डा समूहका सदस्यलाई एल सल्भाडोर पठाएका छन् । तर, तिनलाई चुप लगाउँदैमा यो काण्ड दबिने सम्भावना छैन । एल साल्भाडोरमा भएको मतसर्वेक्षण विश्वसनीय देखिँदैन । यसका बाबजुद बुकेलेको आमस्वीकृति दर ९० प्रतिशतभन्दा उच्च रहेको बिन्दुबाट धेरै तल रहेको केहीले देखाएका छन् ।
तर, बुकेलेले अहिलेको अलोकप्रियतालाई पनि पार पाउनेछन् । उनी सामाजिक सञ्जाललाई शक्तिशाली प्रचार मेसिनका रूपमा प्रयोग गर्न माहिर छन् । त्यसबाहेक उनमा आफ्ना विरोधीलाई दबाउन कस्तो उपकरण प्रयोग गर्नुपर्छ भन्ने सीप छ । निकारागुआ र भेनेजुएलाले देखाएकोजस्तै, निरंकुशहरू लोकप्रिय नहुँदा पनि लामो समयसम्म सत्तामा टाँसिन सक्छन् । बुकेलेको तानाशाही रूपान्तरणले इक्वेडर र पेरुजस्ता गुन्डा समूहको हिंसाबाट नराम्ररी प्रभावित अन्य देशलाई एउटा पाठ सिकाएको छ । त्यो हो, जब एक महत्वकांक्षी व्यक्तिले कानुनको शासन निलम्बन गरेर तपाईंलाई अपराधीबाट सुरक्षित गर्ने वाचा गर्छ, उसले अपराधीबाट त तपाईंलाई केही समय सुरक्षित गराउला, तर त्यस क्रममा तपाईंलाई उही व्यक्तिबाट सुरक्षित राख्ने कानुन भने बाँकी रहनेछैन ।
– द इकोनोमिस्टबाट