१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
रासस ढाका
२o८२ जेठ २१ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशको अन्तरिम सरकारद्वारा शेख मुजिबको स्वतन्त्रता सेनानीको मान्यता रद्द

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १६:२८:oo

बंगलादेशले मुलुकका स्वतन्त्रता नेता शेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरेको छ।

राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताहरूको पहिचानलाई ‘मुक्ति युद्धका सहयोगीहरू’ भनेर परिभाषित गरेको छ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बंगबन्धु शेख मुजिबुर रहमानका अतिरिक्त सन् १९७१ को स्वतन्त्रता संग्रामको समयमा अस्थायी सरकारका राष्ट्रपति तथा प्रधानमन्त्री सैयद नजरुल इस्लाम र ताजुद्दिन अहमदको स्वतन्त्रता सेनानीको मान्यता पनि खारेज गरेको छ।

सरकारले मंगलबार राति जामुका ऐन संशोधन गर्ने अध्यादेश जारी गरी वीर स्वतन्त्रता सेनानीको नयाँ परिभाषा तोकेको हो। संशोधित अध्यादेशअनुसार निर्वासनमा रहेका मुजिबनगर सरकारका सदस्यहरू ‘मुक्ति युद्धका सहयोगी’ हुनेछन्। राष्ट्रपतिको आदेशमा कानुन मन्त्रालयको विधायी तथा संसदीय विभागले अध्यादेश जारी गरेको हो।

अध्यादेशअनुसार मुक्ति युद्धका वेलाको निर्वासित सरकार मात्र नभएर मान्यता प्राप्त स्वतन्त्रता सेनानीहरूका अन्य चार वर्गलाई पनि ‘मुक्ति युद्धका सहयोगी’ भनेर पहिचान गरिएको छ।

स्वतन्त्रता सेनानीहरूका चार वर्ग छन्। पहिलो, विदेशमा मुक्ति युद्धमा विशेष योगदान दिएका र विश्व जनमतलाई आकार दिन सक्रिय भूमिका खेलेका बंगलादेशी पेसेवरहरू। दोस्रो, मुक्ति युद्धका वेला गठित बंगलादेश सरकार (मुजिबनगर)अन्तर्गत अधिकारी, कर्मचारी, दूत र अन्य सहयोगीका रूपमा सेवा गर्नेहरू।

तेस्रोमा स्वाधीन बंगला रेडियो स्टेसनका सबै कलाकार र प्राविधिकहरू तथा स्वदेश र विदेशमा मुक्ति युद्धको समर्थनमा सेवा गर्ने सबै बंगलादेशी पत्रकारहरू रहेका छन् भने चौथो वर्गमा स्वाधीन बंगला फुटबल टोली रहेको छ।

राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा सन् १९७१ मा पाकिस्तानविरुद्ध नौ महिनाको रक्तपातपूर्ण युद्धबाट बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो। भारतले बंगलादेशलाई स्वतन्त्रता प्राप्त गर्न सहयोग गरेको थियो।

छुटाउनुभयो की ?