
जापानमा गत वर्ष पहिलोपटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।
जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो। यो संख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम हो।
विश्व बैंकका अनुसार कुल जनसंख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरैे वृद्ध व्यक्तिहरूको जनसंख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान छ।
प्रधानमन्त्री सिगेरु इसिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिला उपायहरूको प्रतिज्ञा गरेका छन्।
जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत संख्या) पनि १.१५ मा झरेको छ। जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो।
जनसंख्याका हिसाबले खुम्चिँदै गएका गाउँहरूमा वृद्धहरू झन्–झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इसिबाले ग्रामीण क्षेत्रहरूको पुनरुत्थानका लागि आह्वान गरेका छन्। जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन्।
झन्डै १२ करोड ३० लाख जनसंख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसंख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ। सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसंख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन।
छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत छ। यो विश्वकै सबैभन्दा कममध्येको एक हो, तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ।