
धानको न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने माग राख्दै अखिल नेपाल किसान महासंघले ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष प्रेम दंगालसहितको टोलीले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २,८६९ भए पनि हालको बजारमूल्य सरदर १,६२५ (प्रतिमन ६५०) मात्र भएको र उक्त मूल्यमा समेत धान बिकी नभई कुहिने अवस्थाले किसान हतोत्साहित भइरहेको महासंघको भनाइ छ । सरकारले औपचारिकताका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने, तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई झुक्याउने गरेको महासंघको भनाइ छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले किसानका मागका विषयमा आवश्यक सुनुवाइ गरेर निकास दिने बताए । धानको मूल्यका विषयमा किसानले उठाएका उपयुक्त माग सम्बोधन गरी उपयुक्त कदम चाल्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।
महासंघका उपाध्यक्ष प्रेमनारायण अधिकारीले भने, ‘आर्थिक वर्ष ०८१/८२ का लागि नेपाल सरकार मन्त्रिपरिषद्को (०८१ फागुन २१) गते बसेको बैठकले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २,८६९ रुपैयाँ निर्धारण गरेको थियो, समयमै धानको समर्थन मूल्य निर्धारण भएकाले किसानले उत्साहित भई चैते धान लगाएका थिए । तर, धान बिक्री गर्ने समयमा बजारमूल्य प्रतिक्विन्टल सरदर १,६२५ रुपैयाँ (प्रतिमन ६५०) रहेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्य र बजारमूल्यबिचमा ठुलो अन्तर रहेको छ । सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेपछि धान उत्पादन हुनासाथ उक्त मूल्यमा धान खरिद गर्ने सुनिश्चित गर्नुपर्छ ।’
महासंघले नेपालमा उत्पादित धान किसानबाट खरिद गरी भण्डारण गर्ने र आवश्यकताअनुसार वितरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आग्रह गरेको छ । सरकार किसानप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने महासंघको आग्रह रहेको छ ।
महासंघको ज्ञापनपत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले किसानका मागका विषयमा आवश्यक सुनुवाइ गरेर निकास दिने बताए । धानको मूल्यका विषयमा किसानले उठाएका उपयुक्त माग सम्बोधन गरी उपयुक्त कदम चाल्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिए ।
नेपालमा चैते धान पाँच लाख मेट्रिकटन उत्पादन हुने गरेको छ । उत्पादित धान खरिद गर्न र गोदामको व्यवस्थापन गरिदिन महासंघको माग रहेको छ ।