
सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै एक लाख ७० हजार ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरी कार्यालय सिराहाका अनुसार विष्णुपुर गाउँपालिका–१, गौरीपुर घर भएका प्रमोदकुमार महतोलाई हिरासतमा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।
आरोपी महतोले सवारी ज्यान मुद्दा नं. ३६६ को अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सिराहा नगरपालिका–१६, माडरका विवेक यादवलाई छुटाइदिने आश्वासन दिँदै उनकी आमा रानीदेवी यादवसँग रकम लिएको प्रहरीले जनाएको छ।
महतोले यादवकी आमासँग गत १७ असारमा एक लाख ७० हजार रुपैयाँ लिएको उजुरीको आधारमा पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार महतोलाई सोमबारदेखि नै लागू हुने गरी मंगलबार सिराहा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ। ‘प्रहरीसँग सम्बन्धित कुनै पनि काम गराइदिन्छु भन्दै कसैले रकम माग गरेमा तत्काल प्रमाणसहित जिल्ला प्रहरीमा उजुरी दिन आग्रह गर्छु,’ उनले भने, ‘प्रहरीको सम्पूर्ण सेवा निःशुल्क छ।’