
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार खण्ड जिल्लाको मध्यभागमा पर्ने व्यस्त बजार हो । जहाँ सयौँ सवारीसाधन र सर्वसाधारणको आवतजावत भइरहेकाे हुन्छ। तर, सवारी आवगमन र भिडभाडयुक्त क्षेत्रमा साप्ताहिक हाटबजारसमेत लाग्ने हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ।
हरेक मंगलबार र शनिबार लाग्ने हाटबजारमा सागसब्जी, तरकारी, भाँडावर्तन, फलफूल, कपडा पसल सडकमै राखिँदा सवारी दुर्घटनाको जोखिम भए पनि नगरपालिकाले चासो नदिएको सरोकारवालाको गुनासो छ ।
गोलबजार नगरपालिकाको केन्द्रसमेत रहेको नगरको गोलचोकदेखि करिब एक सय मिटर पश्चिम पेट्रोलपम्पसम्म सडकको दायाँबायाँ दुवैतर्फ लाग्ने हाटबजारले दुर्घटनाको जोखिम बढाएको उद्योग व्यपार संघ गोलबजारले जनाएको छ। ‘हरेक साताको दुई दिन लाग्ने हाटबजारमा सामान किनमेल गर्न आउनेहरू व्यापारी र किसानसँग नगरपालिकाले राजस्वस्वरूप बट्टी उठाउँछ, तर बजारको सुरक्षा र व्यवस्थापनका लागि पटक्कै ध्यान दिएको छैन,’ संघका अध्यक्ष विजय साहको गुनासो छ।
‘सडक क्षेत्रमै लाग्ने हाटबजारमा जोखिम मोलेर किनमेल गर्नुपर्छ,’ उनले भने, ‘त्यसले सडकमा ओहोरदोहोर गर्ने, किनमेल गर्न आउने र बिक्री गर्ने सबैजना सवारी दुर्घटनाको जोखिममा छन् ।’ गोलचोकनजिकै पूर्वपट्टि म्याजिक, विंगर, बस र टेम्पो स्टेन्ड तथा पश्चिमतर्फ हाटबजार लाग्ने हुँदा कुनै पनि वेला दुर्घटना हुन सक्ने र त्यसले मानवीय क्षति हुन सक्नेतर्फ नगरपालिकाले ध्यान नदिएको उनको गुनासो छ। ‘नगरपालिकाले बजार व्यवस्थापनका लागि भन्दै नाम मात्रको सर्वदलीय समिति बनायो, तर न कुनै काम भएको छ न त गर्न दिइएको छ,’ उनले भने, ‘संघले बजारको सुरक्षा र व्यवस्थापनका लागि करिब एक वर्षअघि नै प्रस्ताव बुझाएको छ। तर कुनै सुनुवाइ गरिएन ।’
सडकको दायाँबायाँ लाग्ने हाटबजारका कारण पैदलयात्री र सवारीसाधनका लागि पनि गोलबजार चुनौतीपूर्ण बन्दै गएको स्थानीय युवा सुरेश रायले बताए। ‘त्यसका लागि स्थानीय सरकार नै जिम्मेबार बन्नुपर्छ,’ उनले भने, ‘सडक क्षेत्रमा पसल, ठेलागाडा, सागसब्जी र अन्य व्यापार गर्दा पैदलयात्रीलाई हिड्नै सकस हुने गरेको छ।’
सर्वदलीय समितिले काम गर्दै छ : उपप्रमुख
गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले सडक क्षेत्रमा लाग्ने हाटबजार स्थानान्तरण र व्यवस्थापनका लागि नगर क्षेत्रमा क्रियाशील सबै राजनीतिक दल, स्थानीय उद्योग व्यापार संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि रहने गरी नगर उपप्रमुुखको संयोजकत्वमा सर्वदलीय समिति गठन गरिएको जानकारी दिए। ‘समितिले कसरी काम गरिरहेको छ, संयोजकलाई नै सोध्दा राम्रो होला,’ उनले भने।
सर्वदलीय समितिकी संयोजक तथा नगर उपप्रमुख मान्ती साहले साप्ताहिक हाटबजार लाग्दै आएको धमिनीथान उत्तर पश्चिमपट्टिको ग्रामीण बजारलाई व्यवस्थित गरी सडक क्षेत्रमा लाग्दै आएको हाटबजार सार्ने योजना बनाएको बताइन्। ‘करिब चार महिनाअघि गठन गरिएको समितिको बैठकले ग्रामीण बजारमा रहेका जीर्ण टहराहरूको मर्मत गरी भुइँमा ग्राभेल बिच्छ्याएर बजार सार्ने निर्णय गरेको छ,’ उनले भनिन्, ‘टहरा मर्मतसँगै ग्राभेल हाल्ने योजना छ।’
सडक क्षेत्रमा लाग्ने हाटबजारको कारणले बढ्दो सवारी सुरक्षा जोखिम घटाउन हरेक दिन गोलचोक क्षेत्रमा दुईजना ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए। ‘अन्य दिन त त्यति समस्या हुँदैन, तर हटियाको दिन बिहानदेखि साँझसम्म अनिवार्य रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘तथापि, हाटबजार हेर्ने निकाय स्थानीय सरकारले तदारुकता देखाएर बजार स्थानान्तरण नगरेसम्म सवारी सुरक्षा जोखिम घट्दैन।’