१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
धनगढी बसपार्कमा बस चल्ने आशमा भारतबाट फर्केकाहरू
२o८२ जेठ २० मंगलबार १५:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट फर्केकाहरू धनगढी र अत्तरिया बसपार्कमा अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १५:५५:oo

भारतको पन्जाबबाट स्वदेश फर्किएका डडेल्धुराको गन्यापधुरा रेलगाउँका तिलक लुहार घर जान नपाएर दुई दिनदेखि कैलालीको अत्तरियामा अलपत्र छन्। भाइ प्रसादसँगै गौरीफन्टा नाका हुँदै सोमबार आएका उनी डडेल्धुरा जाने बस चढ्न भनेर बिहान ६ बजे धनगढी बसपार्क पुगे। तर, यातायात व्यवसायीको बन्दका कारण उनले घर जाने बस पाएनन्।

बसपार्कमा बिहानभर कुर्दा पनि बस जाने छाँटकाँट नदेखेपछि दुई भाइ अटो रिक्सालाई दुईजनाको आठ सय रुपैयाँ भाडा तिरेर १५ किलोमिटर दूरीमा रहेको अत्तरिया बसपार्क पुगेका थिए। त्यहाँबाट पनि उनीहरूले बस पाएनन्। ‘बस पाइएला भनेर धनगढीबाट यहाँ आयौँ,’ सोमबार दिउँसो अत्तरिया बसपार्कअगाडि भेटिएका उनले गुनासो गरे, ‘गाडी बन्द छ भन्ने थाहा नपाउँदा दुःख पाइयो।’

बर्खे खेतीका लागि फर्किएका उनी बस पाएको भए आइतबार दिउँसो घर पुगिसक्थे। गाडी पाइने आसमा दिनभरि बसपार्क र आसपासमा कुरिरहेका उनले राति सुत्नका लागि बसपार्कनजिकैको होटेलमा एउटा कोठा लिएको बताए। बस नचलेर अलपत्र पर्दा खर्च मात्र भएको उनले गुनासो गरे।

 

भारतको लुधियानाबाट फर्किएका डोटीको बोगटान–फुड्सिल गाउँपालिकाको पलाडीका दीपक बोगटीसहित सातजना बिहानैदेखि बसपार्कमा बस कुरिरहेका छन्। उनीहरू घर कसरी जाने भन्ने चिन्तामा छन्। ‘गाडी बन्द रहेछ, अलपत्र परियो,’ दीपकले भने, ‘गाडी चल्ने आसमा बिहान ६ बजेदेखि बसपार्कमै छौँ, बेलुकीसम्म गाडी नचले होटेलमा बस्नुपर्ला।’

सार्वजनिक यातायात बन्द भएपछि सर्वसाधारण मारमा परेका छन्। भारतबाट घर फर्कनेहरूलाई झनै समस्या भएको छ। उनीहरू धनगढी र अत्तरिया बसपार्कमा रोकिएका छन्। कतिपय दोब्बर–तेब्बर भाडा तिरेर जिप बुकिङ गरेर गइरहेका छन्। ‘जिपमा जान खोज्दा तीन–चार हजार भाडा लिने रहेछन्,’ आफन्तसँगै भारतको महाराष्ट्रबाट फर्किएकी डोटीको तिखाकी पवित्रा खड्काले भनिन्, ‘कहाँ बस्ने, कसरी जाने तनावमा छौँ। हामीलाई अलपत्र पारेकोमा सरकारलाई धन्यवाद भनिदिनु।’

कैलालीको लम्कीचुहा नगरपालिका गुलराका बिरु चौधरी दिउँसोको टन्टलापुर घाममा नाबालक छोरा र श्रीमतीसहित बस चल्ने आशमा धनगढी बसपार्कभित्र बसिरहेका थिए। भारतको नासिकमा होटेलमा काम गर्ने उनी श्रीमती र छोरालाई घर छोड्न आएका हुन्। उनले बिहानदेखि आफूहरू बसपार्कमा अलपत्र परेको गुनासो गरे।

सशस्त्र प्रहरीको नित्रनगर गुल्मका अनुसार त्रिनगर नाका भएर अहिले भारतबाट दैनिक करिब दुई सय नेपाली स्वदेश फर्कने गरेका छन्। यातायात व्यवसायीको देशव्यापी आन्दोलनका कारण सोमबारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन चलेका छैनन्। आन्दोलनरत व्यवसायी धनगढी र अत्तरियाका विभिन्न ठाउँमा सडकमा आएर पेट्रोलबाट चल्ने अटो सञ्चालनमा समेत रोक लगाइरहेका छन्। सार्वजनिक यातायात बन्द हुँदा छोटो दूरीमा चल्ने अटोरिक्साले यात्रुबाट मनपरी भाडा असुल गरिरहेका छन्।

छुटाउनुभयो की ?