
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित बर्दादेवीमा नेपाली सेनाको गोरख बक्स गण मंगलसेनले हेलिप्याड बनाएर गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । यो सदरमुकामबाहिरको पहिलो व्यवस्थित हेलिप्याड हो ।
पर्यटन प्रवर्द्धनको मुख्य लक्ष्यका साथ भ्युटावरजस्तो देखिने जयगढको बर्दादेवी डाँडामा निर्माण गरिएको यो हेलिप्याड विपत् तथा आपतकालीन समयमा उद्धारसँगै प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट राहत सामग्री ढुवानी गर्नुका साथै नागरिक–सैनिक सम्बन्धलाई मजबुद बनाउने उद्देश्यका साथ निर्माण गरिएको गणपति प्रमुख सेनानी संगम अधिकारीले जानकारी दिए।
‘पर्यटनसँगै भविष्यमा आइपर्ने विपत्, स्वास्थ्यसम्बन्धी जटिलता, राष्ट्रपति हवाई उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई साधनबाट उद्धारसँगै राहत सामग्री ढुवानीमा सहजता ल्याउन हेलिप्याड निर्माण गरिएको हो,’ गणपति अधिकारीले भने ।
उनका अनुसार यो हेलिप्याडले विशेषगरी गंगादशहरामा बर्दादेवी मन्दिरको दर्शनगरी बडिमालिका, नाटेश्वरी, खप्तड र शैलेश्वरी दर्शन गर्न जानेहरूका लागि पनि सहज हुनेछ । गंगादशहराको वेला राजाहरूले बडिमालिकाबाट पूजाआजा प्रारम्भ गरी बर्दादेवी, नाटेश्वरी, खप्तड हुँदै डोटीको शैलेश्वरीमा पुगेर पूजा समापन गर्ने प्रचलन रहिआएको थियो । अन्तिमपटक राजा वीरेन्द्रले बर्दादेवी माईको दर्शन गरेको अनुमान छ ।
हेलिप्याड निर्माण भएँगै बर्दादेवी दर्शनमा हेलिकोप्टरमार्फत पर्यटकहरू आउने क्रम सुरु हुनुका साथै अबदेखि विपतमा परी घाइते तथा अंगभंग भएका नागरिक, प्रसव पीडाको जोखिमबाट हुने सम्भावित क्षति न्यूनीकरणसँगै राहत उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले बताए ।
नवनिर्मित हेलिप्याड सोमबार गणपति अधिकारीले गाउँपालिका अध्यक्ष साउदलाई हस्तान्तरण गर्ने क्रममा उनले श्रमदान गरेर यति ठुलो सहयोग गरेको भन्दै सेनालाई धन्यवाद दिए । उनले यो हेलिप्याडले बान्नीगढी जयगढसँगै साँफेबगर, मेल्लेख, चौरपाटी, रामारोशन र मंगलसेनलगायत स्थानीय तहहरूलाई समेत सहयोग पुग्ने बताए ।
बर्दादेवी मन्दिरदेखि १५० मिटरको दूरीमा निर्माण गरिएको यो हेलिप्याड अछामका दश स्थानीय तहहरूमध्ये बान्नीगढी जयगढ गाउँपालिकामा बनेको जिल्लाकै पहिलो व्यवस्थित हेलिप्याड हो । अन्य नौ स्थानीय तहहरूमा यस्तो व्यवस्थित हेलिप्याड छैन ।
अहिलेसम्म विपतमा परी घाइते तथा अंगभंग भएकाहरू र प्रसव पीडामा रहेका सुत्केरीको उद्धारका लागि सदरमुकाम मंगलसेनस्थित नेपाली सेनाको गोरख बक्स गणमा रहेको हेलिप्याड प्रयोग गर्ने गरिएको थियो । हेलिप्याड नहुँदा कतिपय ठाउँमा जोखिमपूर्ण आपतकालीन अवतरण गर्नुपर्ने बाध्यता छ ।
यो हेलिप्याड निर्माण गर्न गोरख बक्स गणका सेनानी अमृत खड्काको समन्वयमा ५० जना बढी सैनिक टोलीले निरन्तर चार दिन श्रमदान गरेको थियो ।