१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १८ आइतबार १२:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितुवा आतंकले मेचीनगरवासी त्रसित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १२:४१:oo

हात्ती प्रभावित मेचीनगर नगरपालिका- २ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

दिनभरि चियाबगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर- २ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतंक खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतंक खेप्नुपरेको उनले बताए ।

‘हात्तीको नियमित आतंक, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ,’ वडाध्यक्ष बराल भन्छन्, ‘प्रत्येक दिन खोरबाट बाख्रा, सुँगुर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ ।’

हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगुर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए ।

‘अहिलेसम्म खसी–बाख्रा मात्र मारिरहेको छ,’ उनले भने, ‘चितुवाले कुनै पनि वेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।’ मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए ।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका संघसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका छन् । उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी वयस्क चितुवा रहेको दाबी गरे ।

दुई महिनाअघि मेचीनगर– ४, बाहुनडाँगीमा समेत चितुवाले स्थानीयवासीको एक दर्जन खसी–बाख्रा मारेको थियो । कन्काईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाया मार्ने खाने गरे तापनि मानवीय क्षति नभएको बताए । उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम–झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुन सक्ने बताए ।

सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखापरेको थियो । त्यसवेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए । बाहुनडाँगीनजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जंगली जनावर डुल्दै आइपुग्ने गर्छन् । विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेला परेका थिए ।