
उदयपुरको कटारी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु भएको छ। एक वर्षअघि निर्माण सम्पन्न भए पनि शनिबार उद्घाटनपछि औपचारिक रूपमा सेवा सुरु भएको हो। भवनको शनिबार नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
तीन तलाको उक्त भवनमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कक्षका साथै स्वास्थ्य, कृषि, पशु, योजना, प्रशासन, न्यायिक समिति, लेखालगायतका सम्पूर्ण शाखा रहेका छन्।
भवनमा ३० वटा कोठा र एउटा आकर्षक सभाहल छ। विशेष गरी, यो भवन अपांगमैत्री बनाइएको छ र अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि लिफ्टको समेत व्यवस्था गरिएको छ।
नगरप्रमुख श्रेष्ठले भवनले सुशासन र समृद्धिको अभियानलाई थप सशक्त बनाउने दावी गरे । उनले भने, ‘भवन केवल इँटाको संरचना मात्र होइन, यो कटारीवासीको समृद्धि र सुविधाको प्रतीक हो।’
३० चैत ०७९ मा भुसनाम्छा प्राइम बेल्टार जेबीले भ्याटबाहेक पाँच करोड ५६ लाख ५३ हजार २४२ रुपैयाँमा ठेक्का लिएर ३० असार ०८१ सम्पन्न गरेको कटारी नगरपालिकाका योजना तथा प्राविधिक शाखाका इन्जिनियर अरुण हमालले जानकारी दिए । उनले भने, ‘एक वर्षअघि निर्माण सम्पन्न भएको हो । तर, उद्घाटनमा मात्र ढिलाइ भयो । अब नयाँ भवनबाटै सेवा सुरु हुनेछ ।’
भवन उद्घाटनमा प्रमुख अतिथि ल्याउने विषयमा कटारी नगरपालिकाका जनप्रतिनिधिबिच विवाद हुँदा उद्घाटनमा ढिलाइ भएको हो । विशेष गरेर नगरप्रमुख श्रेष्ठ कांग्रेस र उपनगरप्रमुख खड्का एमालेकी हुन् । ‘पछिल्लो समय नगरप्रमुख र उपप्रमुखले भवन उद्घाटनको लागि प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली ल्याउने सहमति गरेका थिए । तर, प्रधामन्त्री ओलीको समय नमिलेपछि नगर प्रमुख श्रेष्ठ र खड्काले संयुक्त रूपमा गरेका हुन् ।’