
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलरबराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ ।
तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात् १५ अर्ब ५० करोड अमेरिकी डलरबराबरको राहत पाएको छ ।
युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिस गरिरहेको जनाएको छ ।
धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिद्वारा अनुमोदित भएमा आइएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ । हालको कार्यक्रमअन्तर्गत यसको वितरण १०.७ अर्ब डलरको नजिक पुग्नेछ ।
आइएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक जारी गर्दै तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बाबजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताएका छन् ।
उनले भने, ‘कोषले यस वर्ष ‘सामान्य’ मुद्रास्फीति–समायोजित आर्थिक वृद्धिको अपेक्षा दुईदेखि तीन प्रतिशतको बिचमा गरेको छ र यसले श्रम अवरोध र ऊर्जा पूर्वाधारमा क्षतिबाट भएको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्दछ।’
उनले खाद्यान्न र श्रमको बढ्दो लागतका कारण मुद्रास्फीति निरन्तर बढ्दै गएको र अप्रिलमा १५.१ प्रतिशत पुगेको बताए ।
कोषले युद्धले जनसंख्या, अर्थव्यवस्था र पूर्वाधारमा ठुलो असर पारिरहेकोले युक्रेनको आर्थिक परिदृश्य असाधारण रूपमा अनिश्चित रहेको जनाएको छ ।
‘चुनौतीपूर्ण वातावरणको बाबजुद यो कार्यक्रम सही मार्गमा रहेको छ र ठुलो मात्रामा बाह्य प्रतिबद्धताहरूको आधारमा पूर्ण रूपमा वित्तपोषित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।