Skip This
काँक्रोको बिउबाट मनग्य आम्दानी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १२:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काँक्रोको बिउबाट मनग्य आम्दानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १२:o७:oo

पर्वतका विभिन्न गाउँमा काँक्रोको बिउका लागि व्यावसायिक रूपमा खेती भइरहेको छ । किसानले काँक्रोको बिउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रो टिपेर बिउ निकाल्न भ्याइनभ्याइ भएको हो । 

बिहादी गाउँपालिका– १, बाच्छा फलेवास नगरपालिका– ११, पाङराङ, वडा नं. १० कुर्घा, वडा नं. ७ लिमिठाना, वडा नं. ६ देवीस्थान र वडा नं. ५ खानीगाउँ तथा जलजला गाउँपालिका– ४ खोलाखेत र वडा नं. ७ धाइरिङका कृषकले व्यावसायिक रूपमा काँक्रोको बिउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरूमा भन्दा यस वर्ष काँक्रोको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

फलेवास नगरपालिका– ११, पाङराङमा ७२ कृषकले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बिउ बिक्रीबाट रु. ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए। 

यस्तै, बिहादी गाउँपालिका– १ बाच्छामा मात्रै कृषकले दुई सय रोपनी क्षेत्रफलमा बिउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बिउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै एक सय रोपनीमा काँक्रो लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।

गत वर्ष काँक्रोको बिउ प्रतिकिलो रु. १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौं, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बिउको माग भइरहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोको खेती गरी कम्तीमा पनि एक सय किलोभन्दा बढी काँक्रोको बिउ उत्पादन हुने बताए। 

यसैगरी जलजला गाउँपालिका– ७, धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोको बिउ बेचेर रु. तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुंगनाथ आचार्यले बताए। 

कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोको बिउखेती गरिएको जग्गाको क्षेत्रफल दुई सय रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि रु. आठ करोडबराबरको काँक्रोको बिउ उत्पादन हुने अनुमान गरिएको बताए। कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बिउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताए ।  

अहिले काँक्रो टिप्ने र बिउ निकाल्ने तथा सुकाएर थन्क्याउने काम भइरहेको छ । असार दोस्रो सातापछि व्यापारीलाई बिक्री गरिने कृषकले बताएका छन् । यहाँको बिउ नार्क तथा निमाकोललगायतका संस्थाले लैजाने गरेका छन् ।